राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा सरकारले आफ्नो जिम्मेवारी सही ढंगले पूरा गर्न नसक्दा शिक्षकहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्।
विधेयक संशोधनको माग राख्दै नेपाल शिक्षक महासंघले मंगलबार रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
महामन्त्री बुर्लाकोटीले सरकारले समयमै शिक्षकहरूका मागलाई गम्भीरतापूर्वक लिएर समाधानको पहल नगरेका कारण आन्दोलनको अवस्था सिर्जना भएको टिप्पणी गरे।
‘सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा चुक्यो, जसका कारण आज शिक्षकहरूले हरेक पार्टी कार्यालय धाउनुपर्ने दुःखद अवस्था छ,’ उनले भने, ‘वास्तवमा यो जिम्मेवारी सरकारको हो।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी शिक्षकहरूले उठाएका जायज मागहरूप्रति सकारात्मक रहेको र समाधानका लागि सदनदेखि समितिहरूसम्म निरन्तर छलफल र बहस गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
बुर्लाकोटीले भने, ‘देशको समग्र सुशासन र समुन्नतिका लागि शिक्षकहरूको योगदान महत्त्वपूर्ण हुन्छ, तर राज्यले उनीहरूका सेवा, सुविधा र वृत्ति विकासका कुरामा ध्यान दिन सकेन।’
अघिल्लो पटकको लामो आन्दोलनपछि सरकारले गरेको प्रतिबद्धता पूरा नगरेको र बीचमा शिक्षामन्त्री फेरिने जस्ता घटनाक्रमले विधेयकलाई सही ढंगले अघि बढाउन नसकिएको उनको भनाइ थियो।
नेपाल शिक्षक महासंघले प्रतिनिधिसभामा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरू समेटिनुपर्ने भन्दै दोस्रो चरणको आन्दोलनअन्तर्गत विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएको छ।
यसअघि महासंघले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको कार्यालयमा पनि धर्ना दिइसकेको छ।
विगतमा भएका सहमतिहरू विधेयकमा समावेश नगरिएको भन्दै महासंघले राजनीतिक दलहरूलाई दबाब दिन धर्ना कार्यक्रम आयोजना गरेको हो।
प्रकाशित: १७ भाद्र २०८२ १८:२८ मंगलबार





