१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

असन्तुष्ट हुनुपर्ने कारण छैन, कसमै खाएको भए बेग्लै कुरा: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्। उनले सरकारले व्यवसायमैत्री र स्थिर नीतिहरू अवलम्बन गरेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

मंगलबार काठमाडौंको भृकुटीमण्डपमा १७ औं ‘नाडा अटो शो’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘असन्तुष्ट हुनुपर्ने त म कुनै ठाउँ नै देख्दिनँ। अब असन्तुष्ट हुनका लागि कसैले कसमै खाएको छ भने त बेग्लै कुरा।’

उनले सरकारले अवलम्बन गरेका कर, मौद्रिक नीति तथा अन्य व्यवसायिक नीतिहरू स्थिर र अनुमानयोग्य रहेको दाबी गरे। ‘हाम्रा पोलिसीहरू स्थिर छन्। हामीले यस्ता नीतिहरू अख्तियार गरेका छौं, जसबाट हाम्रो आधुनिकीकरण र अग्रगमनको यात्रालाई सहयोग पुग्नेछ,’ उनले भने। सरकारका नीतिहरू किसान, मजदुरदेखि उद्योगी-व्यवसायी सबैका लागि मैत्रीपूर्ण रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले पूर्वाधार विकास सरकारको मुख्य प्राथमिकतामा रहेको सुनाए। उनले पूर्व-पश्चिम राजमार्गलाई एसियन मापदण्डमा स्तरोन्नति गर्ने, हुलाकी राजमार्ग लगभग सम्पन्न भएको, मध्यपहाडी र मदन भण्डारी राजमार्ग निर्माण भइरहेको तथा पूर्व-पश्चिम रेलमार्गको खाका तयार भइरहेको जानकारी दिए।

उनले भने, ‘अस्ति मैले बेलीब्रिज उद्घाटन गरेपछि हुम्लाको सदरमुकाम पनि सडक सञ्जालमा जोडिएको छ। अब हामी त्रिदेशीय सम्बन्ध विकास गर्ने दिशामा अघि बढेका छौँ।”

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदर्शनीमा राखिएको ‘उड्ने कार’ (फ्लाइङ कार) को समेत अवलोकन गरेका थिए। उद्घाटनपछि बोल्दै उनले नयाँ आविष्कार र प्रविधिको विकासमा लाग्ने युवाहरूलाई सरकारले सधैँ साथ दिने प्रतिबद्धता व्यक्त गरे।

नाडा अटो शो भदौ ८ गतेसम्म चल्नेछ। विभिन्न ब्रान्डका नयाँ सवारी साधन, पुराना भिन्टेज कार र अत्याधुनिक प्रविधिहरू प्रदर्शनमा राखिएका छन्।

प्रकाशित: ३ भाद्र २०८२ १६:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App