फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस भएको छ। कांग्रेस जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम एकल रूपमै सिफारिस गरेको हो।
डडेलधुरा कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले पूर्व प्रधानमन्त्री समेत रहेका देउवाको नाम एकल रूपमै सिफारिस भएको जानकारी दिए। देउवाले केही दिनयता आफूलाई भेट्न पुग्ने नेता कार्यकर्ताहरूलाई डडेलधुराबाट अन्तिमपटक चुनाव लड्ने मनशायमा रहेको बताउन थालेका थिए।
नेपाली राजनीतिमा २०४८ यताका सबै निर्वाचनमा उठेर निर्वाचन जित्ने नेता सभापति देउवा एक्ला पात्र हुन्। उनले डडेलधुराबाट २०४८, ०५१ र ०५६ को प्रतिनिधिसभा निर्वाचन, २०६४ र ०७०को संविधान सभा सदस्य निर्वाचन, २०७४ र ०७९ को प्रतिनिधिसभा गरी सात पटक चुनाव जितिसकेका छन्। यस्तै २०६४ मा तत्कालीन कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि निर्वाचन जितेका थिए।
प्रकाशित: २५ मंसिर २०८२ १५:१३ बिहीबार





