भदौ २३ गतेको जेन–जी आन्दोलन र भदौ २४ गतेको विध्वंसअघि नेपाली कांग्रेससँगको गठबन्धनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री थिए। सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवासँग तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीको भेट तारन्तार भइरहन्थ्यो। राष्ट्रिय राजनीतिका विषयमा दुई शीर्ष नेता आवश्यक पर्दा दिनहुँ भेटिरहन्थे।
जेन–जी पुस्ताले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारलगायतका विकृतिको विरोध र सुशासनको पक्षमा भदौ २३ गते गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गयो। त्यहीँ साँझ कांग्रेस सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका थिए।
जेन–जीको माग बमोजिम तत्कालीन प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल खोल्न मानेका थिएनन्। मन्त्रिपरिषद्को बैठकबाट सामाजिक सञ्जाल खुलाउने निर्णय नआएपछि सभापति देउवा राति आफै बालुवाटार पुगेका थिए। देउवाको दबाबमा मात्रै ओलीले सामाजिक सञ्जाल खुलाउने सहमत भएका थिए।
तर, त्यो निर्णयले मात्रै भदौ २४ गतेको विध्वंस रोकिएन। त्यहीँ विध्वंसका क्रममा बुढानीलकण्ठस्थित निवासमा सभापति देउवा र पत्नी डा. आरजु राणा देउवामाथि मरणासन्न हुने गरी सांघातिक हमला भयो। अबेर राति नेपाली सेनाले जोगाएर देउवा दम्पत्तिलाई अस्पताल पुर्याएको थियो।
सोही दिन दिउँसो बालुवाटारको चार दिवारमा असुरक्षित भएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर हेलिकप्टरमा उडे। दुई नेताबिचको सत्ता सहयात्रा र नियमित भेटघाट एक भयानक घटनापछि टुट्यो।
त्यसको झन्डै तीन महिनापछि दुई नेता सपरिवार शुक्रबार फेरि सँगै देखिएका छन्। ओली पत्नी राधिका शाक्यलाई लिएर देउवाको भाडाको निवास महाराजगन्ज पुगेका छन्। जहाँ देउवासँगै पत्नी आरजु र ओलीसँगै पत्नी राधिका भएको संयुक्त तस्बिर सार्वजनिक भएको छ। त्यसबाहेक देउवा र ओलीबिच संवाद भएको छुट्टै तस्बिर पनि सार्वजनिक भएको छ। दुवै नेताका सचिवालयले त्यस्ता तस्बिर सार्वजनिक गरेका छन्।
देउवाका भतिजा समेत रहेका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार भदौको घटनापछि दुई नेताबिच भएको यो पहिलो भेट हो। ‘उहाँहरू टेलिफोनमार्फत कुराकानी भइरहेकै थियो। उहाँ(ओली)ले बेलाबेला स्वास्थ्यबारे जानकारी लिइराख्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले सपरिवार भेटौँ भन्नुभयो। अनि आज भेट भयो।’ उनीसँग नागरिकको कुराकानी हुँदा दुई नेता भेटघाटमै थिए।
सभापति देउवा स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर आराम गरेर बसेका छन्। तर, पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउनमा भने उनले सक्रिय रूपमै भूमिका खेल्नपर्यो।
ओली भने एमालेको अध्यक्षकै रूपमा सक्रिय छन्। उनले विभिन्न राजनीतिक भेटवार्ता र संवादहरूलाई निरन्तरता दिएकै छन्। सामाजिक सञ्जालमा देउवा–ओलीको यो भेटलाई विभिन्न कोणबाट विश्लेषण भइरहेको पनि छ।
देउवाका प्रमुख स्वकीय सचिव भानुले भेटलाई ‘पारिवारिक’ र ‘समसामयिक’ दुवै किसिमको रहेको बताउँछन्। ‘दुई राजनीतिक नेताबिचको भेटमा समसामयिक राजनीतिक कुराहरू हुने नै भए नि। यो मुख्यतः पारिवारिक भेट हो,’ उनले भने। दुई नेता र परिवारबिच राजनीतिक मात्र नभई पारिवारिक रूपमा पनि हार्दिक सम्बन्ध रहेको उनले बताए।
सामाजिक सञ्जालमा विश्लेषण गर्नेहरूले देउवा–ओलीबिचको यो भेटलाई संसद् पुनर्स्थापना, सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनसँग जोडेर चर्चा गरिरहेका छन्।
कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतको बुझाइमा दुई नेताबिचको यो भेटवार्तामा ती कुरा उठ्ने र छलफल हुने कुरा सामान्य विषय हुन्। ‘ती विषय अहिलेको राष्ट्रिय राजनीतिका प्रमुख र चर्चा परिचर्चा भइरहेकै विषय हुन नि,’ उनले भने, ‘त्यसैले दुई शीर्ष नेता, पछिल्लो सरकारका साझेदारबिच त्यसमा कुरा उठ्न सक्छन्। कुरा उठे छलफल पनि हुन्छ। त्यो सामान्य विषय नै हुन्।’ उनले पनि देउवा–ओली बिचको भेटघाट राजनीतिक र पारिवारिक दुवै किसिमले लिन मिल्ने बताए। उनका अनुसार ओली आफूलाई भेट्न आउने कुरा देउवाले पार्टीका अरू नेतासँग सुनाएका थिए।
ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले यो भेटलाई पारिवारिक र राजनीतिक दुवै रूपमा लिएका छन्। ‘भदौ २४ को त्यो बीभत्स घटनामा देउवा दम्पतीले जे बेहोर्नुभयो, त्यसमा हर कोहीको मन दुखेको छ। त्यसमा सँगैको साथी, सहयात्रीको नाताले अध्यक्षज्यूको मनमा संवेदना छ नै,’ उनले भने,‘यो भेटको एउटा उद्देश्य पारिवारिक सद्भाव दर्साउनु पनि एक हो।’ अर्को मुलुकले बेहोरिरहेका राजनीतिक घटनाक्रमको समीक्षा र संवादको क्रम सुरु गर्नु पनि एक रहेको उनले बताए।
प्रकाशित: १९ मंसिर २०८२ १८:१९ शुक्रबार





-1200x560-600x400.jpg)