नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ।
बुधबार अपराह्न आयोगको कार्यालय पुगेर देउवा पक्षका नेताहरूले कारबाहीको जानकारीसहितको पत्र दर्ता गराएका हुन्।
बुधबार नै सानेपामा बसेको संस्थापन पक्षीय केन्द्रीय समिति बैठकले तीनै जना नेतालाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ५ वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाहीको घोषणा गरेको थियो।
सोही निर्णयको जानकारी गराउन संस्थापन पक्ष आयोग पुगेको हो।
यता, कारबाहीमा परेका नेताहरूले भने देउवा पक्षको उक्त निर्णयको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन्।
बहुमत महाधिवेशन प्रतिनिधिहरू आफूहरूको पक्षमा रहेको भन्दै उनीहरूले यो कारबाहीलाई अस्वीकार गरेका छन्।
विशेष महाधिवेशन पक्षधर समूहले आजै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको छ।
प्रकाशित: ३० पुस २०८२ १७:१४ बुधबार




