नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन्।
आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताए।
संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए। 'विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै आएका छौँ। यसपटक पनि देशलाई सङ्कटबाट टार्न कार्यगत एकता र गठबन्धन हुन्छ, उनले भने, 'गत भदौँ २३ र २४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ। त्यही क्रममा जनमोर्चासँग सहकार्य भएको हो।'
प्रकाशित: २९ माघ २०८२ १४:५१ बिहीबार




