रौतहट-२ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण साहले मतदान प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग गरेका छन।
राजपुर नगरपालिका र इशनाथ नगरपालिकाका ८ वटा वडामा पुनः मतदान गर्नुपर्ने माग गर्दै उनले आफ्ना पोलिएजेन्टलाइ मतदान स्थलबाट बाहिर निस्कन निर्देशन दिएका छन।
उम्मेदवार साहले केही मतदान केन्द्रमा अर्काको नाममा मत खसालिएको दाबी गर्दै ती केन्द्रमा खटिएका आफ्ना पार्टी प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णयसमेत लिएको प्रतिक्रिया दिए। 'अर्काको नाममा मत खसाउने काम भएको छ, प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको छ', साहले भने, 'अब म निर्वाचन कार्यालयमा धर्ना दिन्छु।'
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने धाँधलीको आरोप अस्वीकार गरे। उनका अनुसार केही स्थानमा सामान्य विवाद बाहेक कतै पनि गम्भीर अनियमितता भएको देखिएको छैन। 'अहिले मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ', भुसालले बताए।
जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ३:३० बजेसम्ममा करिब ५५ प्रतिशत खसेको प्रतिक्रिया दिए।
चार निर्वाचन क्षेत्र रहेको रौतहट जिल्लामा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। जिल्लाभर १५२ वटा मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ। मतदान प्रक्रियालाई निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्था कडा पारिएको रौतहटका प्रजिअ भुसालले बताए।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:४० बिहीबार


-600x400-wm.jpg)


-600x400.jpg)