नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बनाउने र जनतालाई परिणाम दिने शक्ति माओवादी नै भएको कुरा जनताले बुझ्न थालेको दाबी गरेका छन्।
हालैका विभिन्न चुनावी परिणामहरूले जनताको विश्वास माओवादीप्रति बढ्दै गएको संकेत गरेको उनको भनाइ छ।
स्व. पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको ‘राष्ट्रिय ऊर्जा संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी सरकारमा हुँदा लोडसेडिङ अन्त्य भयो, राष्ट्रिय गौरवका आयोजना अगाडि बढे। जनताले यो कुरा राम्ररी बुझेका छन् र अब देश बनाउने सामर्थ्य माओवादीसँग मात्र छ भन्ने निष्कर्षमा पुग्न थालेका छन्।’
उनले आफ्नो नेतृत्वको सरकारले गरेका कामहरूको स्मरण गर्दै उनले भने ‘गणतन्त्र स्थापनापछिको पहिलो सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने क्रान्तिकारी लक्ष्य राखेको थियो। दोस्रोपटक प्रधानमन्त्री हुँदा मैले जनार्दन शर्मालाई ऊर्जामन्त्री र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने राजनीतिक आँट गरेँ। त्यो परम्परागत ढाँचा भत्काएर नयाँ र जनपक्षीय सेटिङ बनाउने निर्णय थियो, जसको परिणाम आज देशले लोडसेडिङबाट मुक्ति पाएको छ।’
अध्यक्ष दाहालले राजनीतिक नेतृत्वको भिजन, रणनीति र जोखिम लिन सक्ने क्षमताविना देशमा ठूला परिवर्तन सम्भव नहुने बताए। ‘यदि राजनीतिक नेतृत्वको भिजन र आँट नभएको भए लोडसेडिङ अन्त्य गर्ने क्रान्ति सम्भव हुने थिएन,’ उनले भने, ‘त्यसको श्रेय केवल प्राविधिक व्यक्तिलाई मात्र दिएर राजनीतिक नेतृत्वको भूमिकालाई अवमूल्यन गर्न खोजिन्छ, जुन गलत छ।’
उनले कांग्रेस र एमाले नेतृत्वको वर्तमान सरकार भ्रष्टाचार ढाकछोप गर्न र डरले बनेको आरोप लगाउँदै यसबाट सुशासन र समृद्धिको आशा गर्न नसकिने टिप्पणी गरे।
दाहालले थपे, ‘जनयुद्ध र जनआन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता र समावेशीता जस्ता उपलब्धिहरू माओवादीकै नेतृत्वमा सम्भव भएका हुन्। देशलाई नयाँ युगतर्फ लैजाने संकल्प हामीसँग मात्र छ।’
प्रकाशित: ११ भाद्र २०८२ १७:०७ बुधबार





