नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० जिल्लाका ११ क्षेत्रबाट उम्मेदवार सिफारिसमा परेका छन्। प्रत्यक्षतर्फको उम्मेदवारका लागि पहिलो नम्बरमा राखेर सिफारिस गरिए पनि ती सबै क्षेत्रमा दाहाल उम्मेदवार बन्न भने सक्दैनन्। धेरै ठाउँबाट उम्मेदवार सिफारिस गराएर उनी आफू सुरक्षित हुने क्षेत्रको खोजीमा लागेका हुन् या उनलाई आफू लोकप्रिय रहेको देखाउने रहर जागेको हो, शंकाको दृष्टिले हेर्न थालिएको छ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी बनाएपछि माओवाद छाडेका दाहालले विगतमा आफ्नो क्षेत्र कहिल्यै सुरक्षित गर्न सकेका छैनन्। २०६४ सालदेखि अहिलेसम्म आइपुग्दा एक पटक चुनाव जितेको क्षेत्रमा उनी दोहोर्याएर गएका छैनन्। २०६४ सालमा दुई क्षेत्र रोल्पा र काठमाडौं–१० मा उनी निर्वाचित भएका थिए। २०७० सालमा सिरहा र काठमाडौं १० उनको रोजाइमा परे तर काठमाडौं–१० ले उनलाई नपत्याएपछि फर्केर त्यहाँ चुनाव लड्न गएनन्। त्यसपछि उनले फरकफरक स्थान र क्षेत्रबाट चुनाव लड्दै आएका छन्। यतिबेला उनले चितवन र गोरखा दुवै क्षेत्र सुरक्षित देखेका छैन्। त्यसकारण अन्य १० जिल्लाबाट उनले आफूले सिफारिस गराएका छन्।
दाहाललाई तराई–मधेस र पहाडी जिल्लाहरूबाट उम्मेदवार सिफारिस गरिएको हो। २०७० सालको निर्वाचनमा दाहाल सिरहाबाट विजयी भएका थिए। अहिले मधेस प्रदेशकै अर्को जिल्ला महोत्तरी–४ बाट दाहालको नाम सिफारिस भएको छ। क्षेत्रीय भेलाले प्रत्यक्षतर्फको उम्मेदवारका लागि दाहालसहित दुई जनाको नाम सिफारिस गरेको छ।
पहिलो नम्बरमा दाहाल रहँदा दोस्रो नम्बरमा मधेस प्रदेशको नेकपा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका भरतप्रसाद साहको नाम सिफारिस गरिएको छ। दाहाललाई रोल्पाबाट पनि उम्मेदवार सिफारिस गरिएको छ। यसअघि रोल्पामा जितेर काठमाडौं आएपछि उनी निर्वाचन लड्न त्यता फर्केका थिएनन्। संकटको अवस्थामा उनले आफ्नो नाम रोल्पाबाट सिफारिस गर्न लगाएका हुन्। यसपटक रोल्पाले नाम सिफारिस गरेपछि दाहाल संकटमा रहेको महसुस गरिएको तत्कालीन माओवादी केन्द्रनिकट एक नेताले बताए।
त्यहाँ दाहाललाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ अन्य पाँच जनाको नाम पनि सिफारिस गरिएको छ। दाहालपछि वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र दीपक रोका सिफारिसमा परेका छन्। २०७९ सालको निर्वाचनमा यो क्षेत्रमा वर्षमान पुनले जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने दाहालले यहीँबाट निर्वाचित भएका थिए। यस्तै नेकपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कास्की–३ बाट संयोजक दाहाल र उनकी बुहारी सिर्जना त्रिपाठीलाई सिफारिस गरेको छ। बागमती प्रदेशको नुवाकोट–१, सिन्धुली–२, रामेछाप, गोरखा–१ र २ र सुदूरपश्चिमको कैलाली–३ बाट उनको नाम सिफारिस गरिएको छ। सुनसरी–४ बाट पनि दाहालको नाम सिफारिस भएको छ।
यसरी हेर्दा संयोजक दाहालले १० वटा जिल्लाका विभिन्न क्षेत्रबाट उम्मेदवारी सिफारिस गर्न लगाएको जस्तो देखिन्छ। यसरी सिफारिस हुँदा एकातर्फ पार्टीभित्र आफ्नो लोकप्रियता कायमै देखिने र अर्कोतर्फ माओवादीनिकट मतदाताहरूको बाहुल्य भएको स्थान पहिचान गरी उम्मेदवारी दिन सकिने देखिएको छ।
त्रिभुवन विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार नेताहरूमा पार्टीभित्र लोकप्रिय रहेको देखाउन यसरी सिफारिस गर्न लगाइन्छ। साथै अहिलेको अवस्था सहज नभएका कारण सुरक्षित स्थानको खोजी गर्नु पनि अर्को कारण रहेको छ। ‘जनमत कहाँ राम्रो छ भनेर मूल्यांकन गर्नुपरेको हुन सक्छ। पुराना दलका नेताहरूलाई अहिलेको अवस्थामा जनताले रुचाएका छैनन् भन्ने प्रस्ट छ तर चुनावी वातावरण बनेपछि उनीहरूको पनि उम्मेदवारी पनि रहन्छ। यसले गर्दा जहाँ सुरक्षित हुन सकिन्छ, त्यहीबाट उम्मेदवारी दिने मनशाय राखिएको हुनपर्छ,’ प्राध्यापक पोखरेलले भने।
यसैगरी राजनीतिक विश्लेषक हरि रोकाले पनि अहिलेको परिस्थिति पुराना दलका लागि सहज नभएको बताए। यो असहजता महसुस गरेर नै दाहालले विभिन्न १० जिल्लाबाट आफ्नो नाम सिफारिस गराएको हुन सक्ने आशंका गरे। ‘हावा कसरी बग्छ, त्यो हेर्न बाँकी छ। अहिलेको अवस्थामा नेताहरूलाई पनि चुनाव जितिहालिन्छ भन्ने कुनै ग्यारेन्टी छैन। जहाँ आफूलाई बलियो देख्छन् , त्यहस्ँबाट उम्मेदवारी दिन खोज्छन्। पुष्पकमल दाहालको हकमा यसअघि पनि यस्तै अभ्यास भएको थियो। आफ्ना मतादता धेरै भएको स्थान खोज्नु स्वाभाविक हो। चुनावी वातावरणमा नेताहरूले आफूलाई कसरी उभ्याउँछन्, त्यो भने हेर्न बाँकी नै छ,’ रोकाले भने।
प्रकाशित: १६ पुस २०८२ ०७:३३ बुधबार





