नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर चलेको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित लिम्बुवान क्रान्तिकारी पार्टी र नेपाली कम्युनिस्ट पार्टीबीचको समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
संयोजक दाहालले एमाले लगायतका पार्टीहरू परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढ्दै गएको भन्दै अब केही समयपछि यो लहर ‘पहिरो’ मा परिणत हुने टिप्पणी गरे।
‘नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ। धेरै नै ठूलो लहर चलेको छ र सायद केही समयपछि पहिरो नै जाने स्थिति पनि देखिएको छ, एमालेमा,’ दाहालले भने, ‘सयौंको सङ्ख्यामा एमाले परित्याग गरेर व्यक्तिगत र सामूहिक रूपमा प्रवेश गर्ने क्रम देशव्यापी रूपमा चलेको छ।’
सुरुमा १० वटा कम्युनिस्ट तथा क्रान्तिकारी समूहहरूबीच एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी स्थापना गरिएको स्मरण गर्दै दाहालले अहिले त्यो सङ्ख्या बढ्दै गएको बताए।
‘त्यो क्रम बढ्दै जाँदा सङ्ख्या गन्न पनि दिनदिनै गनिराख्नुपर्ने जस्तो हुन थाल्यो। हामी १७ वटा पार्टी पुगिसकेका थियौं, आज फेरि दुईवटा अलग-अलग समूहहरूसँग पनि एकतामा गाँसिएका छौं,’ उनले थपे।
दाहालले नागरिक उन्मुक्ति पार्टीको प्रसङ्ग कोट्याउँदै एउटै जिल्लामा ९९ जना जनप्रतिनिधि भएको शक्ति पनि एकता प्रक्रियामा सामेल हुनुले नयाँ सन्देश प्रवाह गरेको दाबी गरे।
उनले विभिन्न विचार मिल्ने समूह, सांस्कृतिक पक्ष र समुदायसँग अन्तरसंवाद गर्दै पार्टी एकताबद्ध भएर अघि बढेको जिकिर गरे।
आगामी दिनमा राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम गरेर थप पार्टी ध्रुवीकरणको सन्देश दिने तयारी भइरहेको समेत उनले जानकारी दिए।
प्रकाशित: २८ पुस २०८२ १९:०२ सोमबार





