७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरूलाई एकीकृत गर्ने पहल सुरु भएको छ। ‘एशिएन इ-हेल्थ इन्फरमेशन नेटवर्क’ को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरण सम्बन्धी पहल सुरु गरेको हो।

स्वास्थ्य तथ्याङ्क डिजिटल गराई आम नागरिकले स्वास्थ्य सम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषत्र डा. झविन्द्र भण्डारीले बताए।

सो पहलबारे जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित ‘नेपालमा स्वास्थ्य तथ्याङ्कको सुशासनका लागि मार्गचित्र’ विषयक कार्यशालामा उनले नेपालसहित भियतनाम र मङ्गोलियामा पनि यस किसिमको पहल सुरु गरिएको बताए।

कार्यक्रममा विभागका व्यवस्थापन महाशाखाका प्रमुख केशव पण्डितले नेपालको संविधान र विभिन्न नीति, कानुनमा नागरिकका स्वास्थ्य अधिकारबारे उल्लेख भए पनि त्यसको जानकारी आम नागरिकका सहज ढङ्गबाट पुग्न नसकिरहेको अवस्थामा यस किसिमको पहल आवश्यक रहेको बताउँदै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा पनि यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।

अधिवक्ता रुपनारायण श्रेष्ठले विद्यमान कानुनमा भएको स्वास्थ्य सम्बन्धी प्रावधान र त्यसलाई एकीकृृत र ‘डिजिटलाइज्ड’ गराउने क्रममा भएका पहलहरूबारे बताए।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा विभागले चार वर्षअघि एकीकृत स्वास्थ्य प्रणाली सम्बन्धी दश वर्षे मार्गचित्र तयार गरी कार्यानवयनमा ल्याएको छ। यसमा समग्र स्वास्थ्य सूचना प्रणाली एकीकृत र ‘डिजिटलाइज्ड’ गरी आम जनतालाई यस सम्बन्धी सहज सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ।

विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कानुनी र नीतिगत तहमा स्वास्थ्य सूचना आम जनताले सहज रूपमा उपयोग गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक रहेको कार्यक्रमका सहभागीहरूले सुझाएका थिए।  

प्रकाशित: १ माघ २०८२ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App