१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

मकवानपुर-१ः राप्रपाले जोगाउला विरासत?

मकवानपुरको क्षेत्र नम्बर १ बागमती प्रदेशको प्रशासनिक क्षेत्र हो । यहाँ लामो समय राजनीतिमा लागेकादेखि नयाँ अनुहारहरु चुनावी मैदानमा होमिएका छन् । १० जना स्वतन्त्र सहित २३ जनाले उम्मेदवारी दर्ता गराएको यस क्षेत्रमा पुराना, नयाँ दलसहित स्वतन्त्र उम्मेदवारले आ–आफ्नो ठाउँबाट चुनावी प्रचारप्रसारलाई तिब्रता देखिएको छ ।  

यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन् ।

यसअघि राप्रपाका सिंहले कांग्रेसबाट चुनावी मैदानमा उत्रिएकी डिनालाई पराजित गरेका थिए । डिनाले यस क्षेत्रबाट यसपटक प्रत्यक्ष तर्फ चौथोपटक उम्मेद्वारी दर्ता गराएकी छिन् । तर अहिलेसम्म उनले निर्वाचन भने जित्न सकेकी छैनन् । दुवै संविधान सभाको निर्वाचनमा उनी समानुपाति तर्फबाट संविधान सभा सदस्य भएकी थिइन् । सोहीक्रममा उनी राज्यमन्त्रीसमेत बनिन् ।  

सिंह तेस्रो पटक निर्वाचन लड्दै छन् । २०५४ र २०७९ सालमा उम्मेद्वारी दिएर निर्वाचन लगेका थिए । पहिलोपटक पराजित भएका सिंहले दोस्रोपटक २०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार बनेकी कांग्रेसकी डिनालाई २ हजार ३८७ मतले पराजित गरेका थिए । सिंह स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा पराजित व्यक्ति समेत हुन् । सांगठनिक रुपमा कमजोर रहेको राप्रपाका व्यापारिक पृष्ठभूमिका सिंहले यसपटक पनि जित निकाल्ने रास्वपाको दाबी छ ।  

त्यतिवेला गठबन्धन हुँदाहुँदै पराजय भोग्नुपरेपछि कांग्रेसकै आन्तरिक द्वन्द्वले पराजित भएको कांग्रेस नेताहरु नै बताउने गर्दछन् । यसपटक कांग्रेस एक भएकाले डिनाको जित सुनिश्चित भएको बताउँछन् नेपाली कांग्रेस निर्वाचन परिचालन समिति संयोजक रामचन्द्र अर्याल ।  

‘हाम्रो मुख्य जित्ने आधार कांग्रेस भित्रको एकता हो । अहिले नेतृत्व र नीति पनि परिर्वतन भएको छ । जेनजिको भावना रुपमान्तरण गर्न कांग्रेस सच्चिएर आएको छ । भोलीको आशा र भरोसा पनि नेपाली कांग्रेससँग नै छ,’ उनले भने ‘मकवानपुरका जनतामा उत्साह जागेको छ।’ अघिल्लो निर्वाचनमा डिनाले २५ हजार ४६४ मत ल्याएकी थिइन् ।  

विगतमा मकवानपुर नेकपा (एमाले)को आधार इलाका जस्तै बनेको थियो । २०४६ सालदेखिका निर्वाचनमा एकाध निर्वाचन बाहेक अन्य निर्वाचन जित्दै आएको समेत थियो । २०७९ सालमा एमाले फुटको असर मकवानपुर क्षेत्र नम्बर १मा परेको थियो । यद्यपि अहिलेको निर्वाचनमा आफूहरु विजयी हुने दाबी एमालेको छ । अघिल्लो निर्वाचनमा एमालेले सूर्य चिन्हबाट राप्रपाका कमल थापालाई आफ्नो उम्मेदवारी बनाएको थियो । थापाले २५ हजार ४६० मत प्राप्त गरेका थिए । यसपटक एमालेले सबैभन्दा अनुभवी र पाका नेताका रूपमा परिचित रामेश्वर रानालाई अघि सारेको छ । तत्कालीन मालेदेखि राजनीतिमा सक्रिय रानाले शालीन, त्यागी र संगठन बुझ्ने नेताको छवि बनाएका छन् । जिल्ला विकास समितिको सभापतिको अनुभव बोकेका राना पहिलो पटक संसदीय निर्वाचनमा लड्दै छन् । ‘मकवानपुरमा हाम्रो संगठन राम्रो छ, मकवानपृुरका एमाले उपाध्यक्ष हिदम लामाले भने हामी संगठनको बलमा निर्वाचन जित्छौँ ।’  

मकवानपुर १ मा नेकपाबाट विजय गौतम उम्मेद्वार रहेका छन् । विद्यार्थी नेता हुँदै अहिले पार्टीैको इन्र्चाज समेत रहेका गौतमसँग नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रमुख स्वकीयसचिवसम्मको जिम्मेवारी सम्हालेको अनुभव छ । युवा उम्मेदवार भएकाले युवामत आकर्षित हुने नेकपा मकवानपुरका नेता प्रल्हाद लामिछानेले बताए । ‘हामी निर्वाचन जित तर्फ अगाडि बढेका छा्रैँ, यसपटक उम्मेद्वार छनोट राम्रो भएको छ,’ उनले भने ‘हाम्रो जनाधार भएको पालिका समेत हो ।’ यो क्षेत्रमा पर्ने बागमती गाउँपालिकामा अध्यक्ष र पाँचवटा वडा नेकपाले जितेको छ । बकैया गाउँपालिकामा उपाध्यक्ष र चारवटा वडाहरू जितेको छ । गढी गाउँपालिकामा उपाध्यक्ष जितेको छ । हेटौँडा उपमहानगरपालिका नेकपाको मेयर जितेको छ ।

यसपटक एमाले, कांग्रेस र रास्पासँग प्रतिस्पर्धा हुने समेत बताए । ‘यसटपक पुराना दलको फस्टेसन घण्टीमा जाने निश्चित छ । तर जित्नेगरी पक्कै जाँदैन । त्यहाँ उम्मेद्वार छनोटमा कमजोरी देखिएको छ,’ उनले भने ‘मुख्य प्रतिस्प्रर्धा एमालेसँग हुने देखिएको छ।’

अहिले देशमा रास्वपाको लहर चलेको छ । यहाँबाट माओवादी पृष्ठभूमिका प्रकाश गौतमलाई उम्मेद्वार बनाएको छ । मकवानपुरका रास्वपा सभापति भरत पराजुलीले मकवानपुरमा रास्वपा प्रति जनलहर चलेको बताएका छन् । ‘हामी घरदैलो अभियानमा छौँ । दिन प्रतिदिन हामीप्रति उत्साह छाएको छ, पराजुलीले भने हामीले जित निकाल्छौँ ।’  

अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ जित हात पार्न नसके पनि रास्वपा समानुपातिकतर्फ मकवानपुर १ मा दोस्रो स्थानमा थियो । अघिल्लो निर्वाचनमा रास्वपाले १८ हजार ६२२ मत पाएको थियो । यसपटक समानुपातिकतर्फ प्राप्त मतलाई प्रत्यक्षतर्फ समेत तान्ने रणनीतिमा रास्वपा लागेको छ । अघिल्लो निर्वाचनमा नेकपा एमालेले समानुपातिक तर्फ २२ हजार ६७६, कांग्रेसले १४ हजार ८१४, राप्रपाले १३ हजार ७७०, माओवादीले १३ हजार १६० र एकीकृत समाजवादीले १ हजार ५५१ मत ल्याएका थिए ।  

मकवानपुर १ संसदीय क्षेत्रमा बागमती गाउँपालिका, बकैया गाउँपालिका, १–४ मकवानपुरगढी गाउँपालिका र २, ४–१० र १२–१८ हेटौंडा उपमहानगरपालिका रहेका छन् । यहाँ १ लाख ५८ हजार ४३५ मतदाता रहेका छन् ।  

 

प्रकाशित: ७ फाल्गुन २०८२ १९:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App