७ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति हो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताएका छन्।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देश र पार्टीको हितमा विवेकपूर्ण निर्णय गर्ने बताए।

महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन, विवेकमा निर्णय गर्ने उल्लेख गरे। विशेष महाधिवेशनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उनले पार्टीलाई विभाजित होइन, अझ सशक्त बनाइने बताए। सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने दृढता पनि उनले व्यक्त गरे।

उनले नेतृत्वको लोकप्रियता स्थापित गर्दा ‘ग्रेसफुल एक्जिट’ पनि अनिवार्य हुने धारणा राखे। आफूले गरेको कामको श्रेय लिनुका साथै कमजोरी सच्याउनुपर्नेमा उनले जोड दिए।

महामन्त्री शर्माले जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा मनलाई जोड्न परिवर्तनसहित अघि बढ्न सङ्कल्प गर्नुपर्ने बताए। अबको अवस्थामा कांग्रेस नवीन सन्देशका साथ अघि बढ्ने र जेनजी आन्दोलनका क्रममा नवयुवाले उठाएका सुशासनका माग सम्बोधन गर्ने क्षमता कांग्रेससँग रहेको उनले बताए।

जेनजी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने उल्लेख गर्दै उनले गत भदौ २३ गते गुमेका जीवन र भदौ २४ को घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिए।

पार्टीभित्र रूपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेकाले कार्यकर्ता आज जागरुक बनेको उनले बताए। सरकारमा बस्नेहरूले जनताको विश्वास जगाउन असफल भएको उल्लेख गर्दै सेवाग्राहीले राज्यबाट पाउने सेवा प्रभावकारी नहुँदा जेनजी आन्दोलन भएको धारणा उनले राखे।

विशेष महाधिवेशनको बन्द सत्रमा जनजीविकासँग सम्बन्धित विषयमा छलफल गरिने जनाउँदै उनले जनताको असन्तुष्टिका विषयमा गहन छलफल गरी स्पष्ट सङ्कल्पका साथ अघि बढ्ने अठोट व्यक्त गरे। महामन्त्री शर्माले कांग्रेसको नीतिमार्फत निजी क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउँदै निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: २७ पुस २०८२ १९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App