नेपाली कांग्रेसले पार्टीका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई पार्टीबाट निष्कासन गरेको छ। २०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कांग्रेसले खनाललाई निष्कासन गरेको हो।
०७९ सालको निर्वाचनमा पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरू विनोद चौधरी र देवेन्द्रराज कँडेललाई असहयोग गरेको भन्दै खनालविरुद्ध पार्टीमा उजुरी परेको थियो। लामो समयपछि उक्त उजुरीलाई आधार मानेर पार्टीको केन्द्रीय अनुशासन समितिले खनाललाई निष्कासन गरेको हो।
समिति सभापति आनन्दप्रसाद ढुङ्गानाले पार्टीको प्रदेश समितिलाई लेखेको पत्रमा कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गते बसेको बैठकको निर्णयअनुसार खनालमाथि कारबाही गरिएको उल्लेख गरेका छन्।
'नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १० निवासी नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनालले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणको आधारमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) र (घ) र उपधारा ८ (ड) बमोजिम निजलाई १ (एक) वर्षको लागि नेपाली कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको उल्लेख गरिएको छ,' पत्रमा भनिएको छ।
खनाल पार्टीको संस्थापनइतर गुटका नेता हुन्। यसअघि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य विनोद चौधरीले उनको विषयमा बैठकमै बोलेका थिए।
यस्तै खोटाङ जिल्ला सभापति विष्णु राई पनि निष्कासनमा परेका छन्। सोही निर्वाचनमा अन्तर्घात गरेको आरोपमा उनी पनि कारबाहीमा परेका हुन्।

प्रकाशित: २५ असार २०८२ १७:०२ बुधबार





