बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ।
यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ।
जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप लगाइएको हो।
जिल्लामा कक्षा ६ का चार हजार ३८० र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका करिब पाँच हजार ६९१ किशोरीलाई खोप लगाउने लक्ष्य छ। स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति देवनारायण उपाध्यायले खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिए।
पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रदान गरिने एचपिभी खोपलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेको जानकारी दिँदै समन्वयकर्ता उपाध्यायले महिनावारी सुरु हुनुअघि एचपिभी खोप लगाउँदा प्रभावकारी हुने जानकारी दिए।
एचपिभी खोपको पहुँच ९९ प्रतिशतभन्दा बढी लक्षित किशोरीमा पुर्याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ।
नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ। गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो। नेपालमा महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो धेरै देखिने र मृत्यु गराउने प्रमुख कारण भएको बताइएको छ।
उक्त खोपले ९५ प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ। सरकारले नौदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी उक्त खोप अभियान सञ्चालन गर्दै आएको छ। रासस
प्रकाशित: ६ आश्विन २०८३ ११:१० मंगलबार





