२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
राजनीति

कम्युनिजमको विश्वयात्रा: छिमेकमा हरायो, नेपालमा अन्तिम मौका !

विश्व राजनीतिमा कम्युनिस्ट विचारधारा २०औँ शताब्दी तिर एक क्रान्तिकारी शक्ति थियो। सन् १८४८मा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले लेखेको कम्युनिस्ट घोषणापत्रले मजदुर वर्गको शोषणविरुद्ध विश्वव्यापी संघर्षको नारा दियो। यसले रुसको बोल्सेभिक क्रान्तिदेखि माओत्से तुङको नेतृत्वमा भएको चिनियाँ कम्युनिस्ट क्रान्तिसम्मलाई प्रेरित गर्‍यो। तर सोभियत संघको विघटन, पूर्वी युरोपका कम्युनिस्ट शासनहरूको पतन र आर्थिक असफलताले अहिले यो विचारधारालाई चीन, उत्तर कोरिया, क्युबा, भियतनामजस्ता थोरै देशमा मात्र सीमित पारिदिएको छ।

वर्तमान समयमा विश्वमा चरम राष्ट्रवाद र दक्षिणपन्थी विचारधाराहरूको उदय भएको छ। अहिले कुनै एक विचारधारा भन्दा पनि पपुलिजम र राष्ट्रिय प्राथमिकताका नाममा विश्वव्यापी राजनीति प्रभावित भइरहेको छ। नेपालमा पनि यो प्रवृत्ति स्पष्ट देखिन थालेको छ। 

तर पनि अहिलेसम्म नेपालमा कम्युनिस्ट शक्तिहरू अन्यत्र भन्दा बलिया र जीवित छन्। नेपालमा सर्वाधिक राजनीतिक प्रभाव पार्ने छिमेकी भारतमा भने यो विचारधारा अपेक्षा भन्दा निकै कमजोर छ। भारतको एउटै राज्य (केरला) मा मात्र कम्युनिस्ट सरकार छ। नेपालमा पनि यो विचारधारा पहिलेभन्दा कमजोर हुँदै गइरहेको छ। अर्को छिमेकी चीनमा भने कम्युनिस्ट विचारधारा राज्यको आधार बनेको छ। तर चीनले ‘चिनियाँ विशेषतासहितको समाजवाद’ भनेर सन्तुलन बनाउन खोजेको छ। 

उता अमेरिकामा अहिले चरम राष्ट्रवादी र दक्षिणपन्थी सरकार छ। उसका छिमेकी देशहरू ब्राजिल र भेनेजुएलामा समाजवादी शासनहरूले गम्भीर आर्थिक संकट भोगिरहेका छन्। युरोप र अमेरिकामा कम्युनिस्ट तत्त्वहरू प्रजातान्त्रिक समाजवादीको रूपमा मात्र सीमित छन्।

विश्वमा कम्युनिस्ट विचारधारा

कम्युनिजमले औद्योगिक क्रान्तिपछि मजदुर वर्गको शोषणविरुद्ध वैकल्पिक व्यवस्था प्रस्तुत गरेको थियो। मार्क्सले पुँजीवादले बुर्जुवा (मालिक वर्ग) ले प्रोलेटेरियट (मजदुर वर्ग) माथि शोषण गर्ने अवस्था सिर्जना गर्छ भनेका थिए। सोही समस्यालाई समाधान गर्न उनले समाजवादबाट कम्युनिजम तर्फको बाटो आवश्यक ठाने। उनका अनुसार राज्यले उत्पादनका साधनहरू नियन्त्रण गर्छ र अन्ततः वर्गविहीन, राज्यविहीन समाज बन्छ। तर वास्तविकतामा कुनै पनि देश पूर्ण कम्युनिस्ट बन्न सकेनन्। सबै तथाकथित कम्युनिस्ट देशहरू समाजवादी मात्र रहे, जहाँ राज्यको नियन्त्रण प्रमुख छ।

कम्युनिस्ट विचारधाराको असफलताका पछाडि मुख्य तीन कारण छन्।

आर्थिक असफलता

कम्युनिस्ट अर्थतन्त्रले निजी स्वामित्व र बजार मूल्य प्रणालीलाई उन्मूलन गरेर केन्द्रीकृत योजना अपनाउँछ। तर नेतृत्वलाई लाखौँ वस्तुको सापेक्षिक मूल्य थाहा नहुँदा उत्पादन र माग बिच तालमेल बिग्रिन्छ। अर्थशास्त्री लुडविग भोन्मिसेसले भनेका थिए, ‘निजी स्वामित्व र मुद्राको प्रयोग बिना तर्कसंगत अर्थशास्त्र असम्भव छ।’ सोभियत संघमा अर्थतन्त्र कमजोर बन्यो, कृषि सामूहिकीकरणले अकाल निम्त्यायो, उपभोक्ता वस्तुको चरम अभाव भयो। चीन, भियतनाम र क्युबामा पनि आर्थिक वृद्धि न्यून रह्यो। चीनले बजार सुधार नीति अपनाएपछि मात्र अहिले विश्वको दोस्रो ठुलो अर्थतन्त्र बन्न सक्यो।

राजनीतिक दमन र अधिनायकवाद

क्रान्तिपछि क्रान्तिकारीहरू नै सत्ताका लागि खतरा बनेका तमाम उदाहरण छन्। स्टालिनको सोभियत संघमा एक करोड भन्दा बढी मानिस मारिए। २०औँ शताब्दीको अन्तिम दशकमा पूर्वी युरोपका क्रान्ति र सोभियत संघको विघटनले प्रमाणित गर्‍यो कि राजनीतिक दमन र अधिनायकवाद लामो समय टिक्दैन। पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुसले भनेका थिए, ‘कम्युनिजम पूर्ण रूपमा टुटिसक्यो। हामी नयाँ रुसलाई शत्रु होइन, स्वतन्त्रतातर्फ अघि बढिरहेको देशको रूपमा हेर्छौँ। कोल्ड वार समाप्त भयो।’ विश्लेषकहरूका अनुसार पूर्वी युरोपमा कम्युनिजमको पतनपछि लोकतन्त्र र खुला बजार अर्थतन्त्रलाई स्वीकार गरियो। तर आर्थिक असमानता र राजनीतिक प्रणाली प्रति चिन्ता अझै कायम छ। प्यूरिसर्चका अनुसार पूर्वी युरोपेलीहरूले लोकतन्त्रको प्रगतिलाई सकारात्मक माने पनि आर्थिक असमानताबारे निराश छन्।

मानव प्रकृति र पदानुक्रमसँग असंगति

कम्युनिजमले तर्कवादी दृष्टिकोण अपनायो, जहाँ विगतलाई भुलेर शून्यबाट सुरु गर्ने नीति हुन्छ। तर समाज विविध पक्ष मिलेर बनेको हुन्छ, सुधार क्रमिक हुन्छ। मानव स्वभावमा स्वार्थ, पदानुक्रम र स्वतन्त्रताको चाहना हुन्छ। जबरजस्ती समानता खोज्दा उल्टो पदानुक्रम बन्छ, जस कारण भ्रष्ट र चाकरीबाज माथि पुग्छन्, इमानदार तल पर्छन्। यसले उत्पादकता घटाउँछ। परिवार वा सानो समूहमा कम्युनिजम चल्न सक्ला, तर ठुलो समाजमा असहज छ। अर्थशास्त्री थोमस सोवेल भन्छन्, ‘वामपन्थीको पूर्ण राजनीतिक दृष्टिकोण (समाजवाद र कम्युनिजम)सहित विश्वका सबै देशहरूमा प्रत्यक्ष परीक्षणमा असफल भएको छ। तर यसले वामपन्थी बुद्धिजीवीहरूलाई प्रमाणलाई टार्न र घटाउन प्रेरित गरेको छ।’

विश्वमा कम्युनिजम शुद्ध रूपमा सफल विचारधारा बन्न सकेन। तर डेमोक्रेटिक समाजवादको रूपमा यसका केही तत्त्व अझै जीवित छन्। उदाहरणका लागि अमेरिकाको न्यु योर्क सिटीमा हालै भएको मेयर चुनावमा ३३ वर्षीय डेमोक्रेटिक समाजवादी नेता जोहरान ममदानीले ठुलो प्रत्याशित जीत हासिल गरे। उनको चुनावी नारा भाडा नियन्त्रण, निःशुल्क बस सेवा र धनी कम्पनी माथि कर वृद्धि जस्ता नीतिमा केन्द्रित थियो। यो पूर्ण कम्युनिजम नभई मिश्रित समाजवादी अवधारणा हो।

नेपालका छिमेकमा कम्युनिस्ट शक्ति

नेपालका दुई प्रमुख छिमेकी भारत र चीनमा कम्युनिस्ट विचारधाराको स्थिति बिलकुल फरक छ। भारतमा निकै कमजोर छ भने चीनमा राज्यको आधार बने पनि परिवर्तित रूपमा देखिन्छ। चीनको कम्युनिस्ट पार्टी (सिपिसी) ले सत्तामा पूर्ण एकाधिकार कायम राखेको छ। तर त्यहाँ ‘चिनियाँ विशेषतासहितको समाजवाद’ छ। चीनमा निजी क्षेत्र पनि फस्टाउँदै छ। तर अमेरिका–युरोपजस्तो कुनै व्यक्ति सरकारभन्दा शक्तिशाली हुन पाउँदैन। एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा सिपिसीका १० करोडभन्दा बढी सदस्य छन्। एकदलीय प्रणालीका कारण अन्य शक्ति सतहमा आउनै सक्दैनन्। पछिल्लो समय राष्ट्रपति सी जिपिङको नेतृत्वमा चीनले आर्थिक स्थिरता र राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिँदै विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको छ। विश्लेषकहरूका नजरमा चीनले कम्युनिजमको वैचारिक शुद्धता भन्दा व्यावहारिक विकासलाई बढी जोड दिएको छ।

नेपालमा कम्युनिस्ट शक्ति

नेपालमा कम्युनिजमको जरा वि.सं. २००६ मा पुष्पलाल श्रेष्ठले भारत, कलकत्तामा कम्युनिस्ट पार्टी अफ नेपाल स्थापना गर्दा गाडिएको थियो। राणा शासनविरुद्धको प्रजातन्त्र आन्दोलनले यसलाई थप बल दियो। बिचमा धेरै पटक विभाजनको सिकार भयो। तर कम्युनिस्टहरूले पटक–पटक सत्ता हात पारेका छन्। वि.सं. २०५१मा मनमोहन अधिकारीको अल्पमत सरकार, वि.सं. २०६५मा माओवादी नेतृत्वको सरकार, वि.सं. २०७४मा एमाले–माओवादी मिलेर बनेको नेकपाले दुई तिहाइ बहुमत ल्याएको थियो। तर स्वार्थ र गुटबन्दीका कारण बारम्बार फुट्दै–जुट्दै आएका छन्। नेपाली कांग्रेस जस्ता प्रजातान्त्रिक दलसँग गठबन्धन गर्दा पनि कम्युनिस्टहरूको वैचारिक पहिचान कमजोर बन्दै गएको छ। नेपाल लोकतान्त्रिक गणतन्त्र हो, तर कम्युनिस्ट नामधारी दलहरू अझै प्रमुख राजनीतिक शक्ति छन्। तर जनताले अब नारा होइन, परिणाम खोजिरहेका छन्।

भारतमा कम्युनिस्ट शक्तिको कमजोरी

भारतमा कम्युनिजमको इतिहास लामो छ। सन् १९२५मा सिपिआई स्थापना भयो। तर यो कहिल्यै राष्ट्रिय शक्ति बन्न सकेन। कारण बारम्बार विभाजन, कमजोर संगठन रह्यो। सन् १९६४ र १९६७ मा सिपिआई विभाजित भएर सिपिएम र सिपिआई बन्यो। भारतमा हिंसात्मक माओवादी नक्सली आन्दोलन पनि असफल प्रायः छ। भारतीय समाजमा जात, धर्म र क्षेत्रीयता प्रमुख छन्। भारतका कम्युनिस्टहरूले वर्ग संघर्षलाई त्यससँग जोड्न सकेका छैनन्। सन् १९९१को उदारीकरणपछि कम्युनिस्टहरू झन् पछाडि परे। अहिले केरला राज्यमा मात्र कम्युनिस्ट सरकार छ। सिपिआई(एम) ले पनि राष्ट्रिय पार्टीको मान्यता गुमाउने अवस्थामा छ। नेतृत्व कमजोर र विचारधारा अप्रासंगिक मुख्य चुनौती बन्दै छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्टालिनको उदाहरण दिएर केही वर्ष पहिला भनेका थिए, ‘क्रान्तिकारीहरूले सत्तामा पुगेर दमन गर्छन्, जसले विचारधारालाई नै बदनाम बनाउँछ।’

अमेरिकाको छिमेकमा समाजवादी शक्तिको स्थिति

अमेरिकाका छिमेकी ल्याटिन अमेरिकी देशहरूमा समाजवादको उदय र पतन दुवै देखिन्छ। ब्राजिलमा लुइज इनासियो लुलादा सिल्भाको वर्कर्स पार्टीले समाजवादी एजेन्डा चलाएको छ। लुलाले गरिबी न्यूनीकरण र सामाजिक कार्यक्रम पुनर्जीवित गरे, चरम गरिबी घटाए। तर मुद्रास्फीति र आर्थिक असन्तुलनले उनको लोकप्रियता घट्दै छ। जानकारहरू लुलावादले समाजवादलाई बजार–अनुकूल बनाएको भए पनि चुनौती कायमै छ भनेका छन्।

भेनेजुएलामा निकोलास मादुरोको समाजवादी शासनले भने विनाशकारी संकट निम्त्याएको छ। ह्युगो चावेजका उत्तराधिकारी बनेर आएका मादुरोले तेल–आधारित अर्थतन्त्रलाई पूर्ण नियन्त्रणमा राखेका छन्। अमेरिकी प्रतिबन्ध, भ्रष्टाचार र दमनले अर्थतन्त्र खुम्चिएको छ।

निष्कर्ष

नेपालमा अहिले पनि कम्युनिस्ट नामधारी दलहरू बलिया नै छन्। तर कमजोर नेतृत्व, वैचारिक शून्यता, बारम्बार विभाजन, बजार अनुकूलनको अभाव र भ्रष्टाचारले जनविश्वास घट्दै छ। गत भदौको दुई दिने जेनजी प्रदर्शन पनि त्यसैको परिणाम थियो। अहिले सबै दलहरू आगामी फागुन २१ को आम निर्वाचनको तयारीमा छन्। सबैभन्दा ठुलो कम्युनिस्ट दलका रूपमा रहेको नेकपा (एमाले) ११औँ महाधिवेशनको संघारमा छ। वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व परिवर्तन गरेर नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने आवाज बलियो बन्दै छ। ओलीलाई टक्कर दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा छन्। लोकतन्त्रलाई मजबुत बनाउँदै बजार–अनुकूल आर्थिक सुधार अपनाउनु आजको अपरिहार्य आवश्यकता हो। कम्युनिस्ट होस् वा अरू कुनै शक्ति, समय र परिवेशअनुसार आफ्नो नीति र शैलीमा सुधार नल्याएसम्म कुनै पनि विचारधारा लामो समय टिक्दैन। इतिहासले यो पाठ बारम्बार सिकाइसकेको छ।

प्रकाशित: २५ मंसिर २०८२ १९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App