नागरिक समाजले वर्तमान अवस्थामा नागरिक आवाज र सरकारको जिम्मेवारी झल्कने ध्यानाकर्षणपत्र प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा देशभरका नागरिक समाज, संघ–संस्था र मानवअधिकार अभियन्ताहरूको तर्फबाट गैरसरकारी संस्था महासङ्घले प्रधानमन्त्री सुशिला कार्कीलाई समसामयिक विषयको ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो ।
चिट्ठीमा लोकतन्त्र, संविधान र मानवअधिकार संरक्षण, दण्डहीनताको अन्त्य, नागरिक स्वतन्त्रताको सुनिश्चितता, जेन–जी पुस्ताको सुशासन, भ्रष्टाचार नियन्त्रण र स्वच्छ–निष्पक्ष–भयरहित निर्वाचनको आवश्यकता लगायतका विषयमा औपचारिक माग राखिएको महासंघका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा गैसस महासंघका अध्यक्ष भट्टराईले पत्र वाचन गर्दै प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए। चिट्ठीमा गत भाद्र २३–२४ मा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

नागरिक समाजले सरकार, निजी क्षेत्र र समुदायबीच सहकार्यबिना देशको समग्र विकास असम्भव रहेको उल्लेख गर्दै सामाजिक रूपान्तरण, मानवअधिकार प्रवर्द्धन, लैङ्गिक समानता, विपद् व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा गैरसरकारी क्षेत्रको योगदान सुनिश्चित गर्नुपर्ने मागसमेत राखिएको भट्टराईले बताए ।
चिट्ठीमा हाल देखिएका संघ–संस्थाको अवमूल्यन, अभियन्तालाई आपराधिकरण गर्ने प्रयास र नागरिक समाजलाई निरुत्साहित गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गर्दै, भयरहित वातावरणमा काम गर्न सक्षम कानुनी र संस्थागत आधार निर्माण गर्न सरकारको सक्रियता आवश्यक रहेको जोडिएको छ।
पत्रमा राजनीतिक दल, निजी क्षेत्र, सहकारी तथा वित्तीय क्षेत्रसँग व्यापक परामर्श गरी समयमै विश्वसनीय निर्वाचन गराउनुपर्ने र जेन–जी आन्दोलनले उठाएका भ्रष्टाचार, सुशासन, जवाफदेहिता र अन्य मुख्य मुद्दामा सरकारले गम्भीर हुनुपर्ने माग पनि राखिएको महासंघले जनाएको छ ।
प्रकाशित: २४ मंसिर २०८२ १५:०२ बुधबार





