कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको मौलिकता, धार्मिक सहिष्णुता र सांस्कृतिक विशेषताको संरक्षणका लागि बाल्यकालदेखि संस्कारसहितको शिक्षा आवश्यक रहेको बताएका छन्।
आज सुर्खेतस्थित सत्य साइ केन्द्रमा हरेक शनिबार सञ्चालन हुने बालविकास कक्षाको अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय नेपाली समाजमा संस्कार, आचरण र मूल्यमान्यतामा ह्रास हुँदै गएकाले यसमा सचेत हुन आग्रह गरेका थिए।
हाम्रो मौलिक संस्कृति, रीतिरिवाज, आचरण र सामाजिक व्यवहारमा देखिएका समस्या समाधान गर्न सानैदेखि नैतिक र चारित्रिक शिक्षा दिन जरुरी रहेको उनले जानकारी गराए।
बालविकास कक्षामा सहभागी बालबालिकाले भजन र श्लोक वाचनलगायत प्रस्तुत गरेका थिए। रासस
प्रकाशित: १७ श्रावण २०८२ १५:३७ शनिबार





