नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालबीच चलिरहेको सार्वजनिक आरोप-प्रत्यारोपप्रति टिप्पणी गरेका छन्।
उनले देशको नेतृत्व गरिसकेका वरिष्ठ नेताहरूको यस्तो जुहारीले राष्ट्र र जनतालाई कुनै फाइदा नहुने भन्दै यसलाई ‘बेमौसमको बाजा’ को संज्ञा दिए।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद भण्डारीले दुई वरिष्ठ नेताहरूको व्यवहारले नयाँ पुस्तामा वितृष्णा फैलाएको र उनीहरूबाट सिक्नुपर्ने आदर्श विपरीतको सन्देश गएको बताए।
आफूहरूका लागि पनि उनीहरू नेता भएको स्मरण गराउँदै भण्डारीले पदअनुसारको शैली नदेखिएकोमा असन्तुष्टि जनाए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पटकै सुहाएन !!! अप्ठ्यारो समयमा पार्टीको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका, यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयाँ पार्टी बनाएका ! आदरणीय माधव नेपालजी र आदरणीय झलनाथ खनालजी बिचको दोहोरी ? राष्ट्र, जनहितसँग कुनै साइनो नभएको बेमौसमको बाजा जस्तो बनेको छ। नयाँ पुस्ताका लागि आदर्श र अनुकरणीय बन्नु पर्नेमा पद अनुसारको यो शैली भएन ! प्रयोग गरिएका शब्दले वितृष्णा फैलाएको छ ! सुहाएन ! तपाईँहरू हाम्रो पनि नेता हो ! नयाँ पिँडीले के सिक्ने? के अनुसरण गर्ने ?’
प्रकाशित: २४ श्रावण २०८२ १८:०७ शनिबार





