३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायलाई आह्वान गरिने : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताए।

प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाएका शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१आंँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधानलगायतका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका शुभकामना सन्देशमा उल्लेख छ।

यसैगरी, जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।

विश्व व्यापीरुपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरु पग्लिने, हिम चट्टान टुक्रिने, हिमालहरु फुट्ने हिम नदीहरुको बहाव बढ्ने, पानीका मुहानहरु सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायतका समस्याहरु हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधितामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ।

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले शुभकामना सन्देशमार्फत जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य हुन आवश्यक रहेको बताए।

स्थानीय घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुईदिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी थिइन्।

सो सम्मेलनमा देशभरका अधिकांश गाउँपालिका तथा नगरपालिकाका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ।

हिमपहिरोबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले अपुरणीय जनधनसहित भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा भइरहेको सो सम्मेलनलाई महत्वका साथ हेरिएको छ।

प्रकाशित: ३० भाद्र २०८३ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App