२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीका उम्मेदवारहरूलाई विश्वप्रकाशको चुनौती: होली पनि सँगै खेलौं, बहस पनि गरौं

नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आगामी फागु पूर्णिमा (होली) का दिन काठमाडौंको खुलामञ्चमा प्रधानमन्त्रीका सबै उम्मेदवारलाई सार्वजनिक बहसमा आउन चुनौती दिएका छन्।

शुक्रबार पोखराको अमरसिंह चौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले लुकेर भोट माग्ने भन्दा पनि खुला मञ्चमा उभिएर आफ्ना एजेण्डाहरु प्रस्तुत गर्न अन्य दलका नेताहरूलाई आग्रह गरे।

शर्माले भने, ‘नेपाली कांग्रेस निमन्त्रणा गर्न चाहन्छ, १८ गते होली छ। काठमाडौंको खुलामञ्चमा प्रधानमन्त्रीका सबै उम्मेदवारलाई सँगसँगै राखेर होली पनि सँगै खेलौं, बहस पनि सँगसँगै गरौं।’

उनले होली मनाउँदै गर्दा एकै ठाउँमा उभिएर हरेक दृष्टिकोण, विचार र मुद्दामा खुला बहस गर्न आफ्नो पार्टी तयार रहेको बताए।

शर्माले नयाँ पुस्ताले खोजेको परिवर्तनलाई कांग्रेसले आत्मसाथ गरेको दाबी गरे। उनले केवल असन्तुष्टिले मात्र देश नबन्ने भन्दै परिवर्तनको सुरुवात कसले गर्‍यो भन्ने हेर्न आग्रह गरे।

‘परिवर्तनको सुरुवात कसैले गर्‍यो कि गरेन भनेर जेन-जीले गम्भीरतापूर्वक हेर्नुपर्छ,’ शर्माले भने, ‘कांग्रेसले विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाइ आफूलाई बदलिएको राजनीतिक दलको रूपमा उभ्याएको छ।’

उनले पुरानो शैली र पुरानो कम्पनी रोज्ने भए अन्य दल रोज्न तर बदलिएको, नयाँ र ऊर्जावान् शक्ति रोज्ने भए कांग्रेसलाई रोज्न मतदातालाई अपिल गरे।

प्रकाशित: १५ फाल्गुन २०८२ १८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App