२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

विश्वप्रकाश भन्छन्: बदलिनेले अब नेतृत्व लिन्छन्, नबदलिने बिदा पाउँछन्

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘जेन–जी’ को भावना र आन्दोलनको सन्देशलाई आत्मसात् गर्दै पार्टी नयाँ ढंगले रूपान्तरण हुने बताएका छन्। कांग्रेस झापा–१ क्षेत्रीय समितिले मंगलबार धुलाबारीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्।

‘समय बदलिएको छ, सबै बदलिनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘नेता, कर्मचारी संयन्त्र सबै बदलिनुपर्छ। सिंहदरबार मात्र होइन, गाउँ गाउँका हरेक तह बदलिनुपर्छ, चिया पसल गर्नेहरू पनि बदलिनुपर्छ।’ 

पार्टीको कुरा गर्दा अब जो बदलिन्छन्, तिनले नेतृत्व लिने र जो बदलिँदैनन् तिनले बिदा लिने दाबी गरेका छन्। ‘जेन–जी’ प्रदर्शनले सबैको आँखा खोलिदिएको पनि महामन्त्री शर्माले बताए। ‘लोकतान्त्रिक पद्धतिप्रतिको उच्च चेत, भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदमको आवश्यकता र नेतृत्व परिवर्तन यो आन्दोलनको सन्देश छ,’ उनले भने। 

आन्दोलनको पहिलो दिन प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने र दोस्रो दिन आगजनी एवं तोडफोड गर्नेहरूका विषयमा गहन छानबिन हुनुपर्ने शर्माले बताए। उनले भने, ‘दोषी जो छन्, उनीहरूप्रति कुनै मोलाहिजा नराखी कडा कानुनी कारबाही हुनुपर्छ।’ –रासस

प्रकाशित: ७ आश्विन २०८२ १९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App