राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्ता गठबन्धनले गरेको प्रयासलाई ‘प्रहसन’ को संज्ञा दिँदै त्यसले सिङ्गो संसद् र लोकतन्त्रको अपमान गरेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता साझेदार दलहरूले आफ्नो स्वार्थपूर्तिका लागि संवैधानिक पदको अवमूल्यन गरेको भन्दै आपत्ति जनाए।
‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो, त्यसले सम्मानित सदनलाई चोट पुर्याएको छ,’ सांसद परियारले भने, ‘लोकतन्त्रको विरासत धानेका भन्नेहरूले नै सम्मानित सदनको, सार्वभौम संसद्को उपसभामुख जस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन गर्नुभएको छ, यो लोकतन्त्रका लागि निकै ठूलो खतरा भएको छ।’
उनले लोकतन्त्र बचाउन हार्न तयार हुने बीपी कोइराला र पार्टीभित्रको सामन्तवादविरुद्ध बोल्ने मदन भण्डारीलाई सम्झन नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई आग्रह गरे।
रास्वपाले एक जनजाति महिलाले पाएको अन्तर्राष्ट्रिय सम्मानको कदर गर्दै उपसभामुख बनाएको तर अहिले आएर उनको पदमाथि नै प्रहार हुनु दुर्भाग्यपूर्ण भएको परियारको भनाइ थियो।
उनले आक्रोशित हुँदै भने, ‘उहाँले जति अन्तर्राष्ट्रिय सम्मान पाउनुभएको छ, तपाईंहरू जति उफ्रे पनि त्यति माथि पुग्न सक्नुहुन्न भन्ने हाम्रो ठम्याइ हो।’
उनले सांसदहरूको विवेकलाई बन्दी बनाएर राजनीतिक स्वार्थ पूरा गर्ने खेल भइरहेको आरोप लगाउँदै यस्तो कार्यले व्यवस्थामाथि नै खतरा पैदा गर्ने चेतावनी दिए।
उनले दोस्रो विश्वयुद्धताका जर्मन पादरी मार्टिन निमोलरको प्रसिद्ध कविता वाचन गर्दै अन्य दलहरूलाई समेत सचेत गराए।
उनले सुनाए-
पहिला तिनीहरू समाजवादीलाई लिन आए,
म चुप रहें किनकि म समाजवादी थिइनँ।
त्यसपछि तिनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए,
म चुप रहें किनकि म ट्रेड युनियनमा थिइनँ।
त्यसपछि तिनीहरू यहुदीलाई लिन आए,
म केही बोलिनँ किनकि म यहुदी थिइनँ।
अन्त्यमा तिनीहरू मलाई लिन आए,
र त्यतिबेला बोलिदिने कोही पनि बाँकी रहेनन्।’
कविता सुनाउँदै उनले चेतावनीको शैलीमा भने, ‘आज रास्वपामाथि जे भएको छ, भोलि त्यो तपाईंमाथि भयो भने बोल्ने कोही हुने छैन। त्यसैले गम्भीर हुन आग्रह गर्दछु।’
प्रकाशित: ४ भाद्र २०८२ १६:३३ बुधबार





