२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

२०६४ को ‘रेकर्ड’ तोड्न बाबुरामको चुनौती

प्रतिनिधिसभा सदस्यका लागि आज देशभर मतदान भइरहँदा पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा बाबुराम भट्टराईले २०६४ सालको ऐतिहासिक आमनिर्वाचन सम्झिएका छन्।

सामाजिक सञ्जालमार्फत् स्टाटस लेख्दै उनले आफूले त्यसबेला बनाएको चुनावी कीर्तिमान कसैले तोडे आफू खुशी हुने बताएका छन्।

भट्टराईले लेखेका छन्, ‘गोरखाले देखाएको अतुलनीय मायाप्रति म सधैं आभारी छु र रहिरहनेछु। मेरो नाममा गोरखा–३ ले लेखेको चुनावी रेकर्ड (खसेको मतको करिब ८३ प्रतिशत) कसैले छिट्टै तोडेमा खुशी हुनेछु।’

माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभा निर्वाचनमा भट्टराई अत्यधिक मतसहित विजयी भएका थिए। गोरखा–२ मा उनले ४६ हजार २७२ मत प्राप्त गर्दा कांग्रेसका प्रतिस्पर्धी चन्द्रप्रसाद न्यौपानेले ६ हजार १७१ मत मात्रै पाएका थिए। यसरी उनीहरूबीच ४० हजार १०१ मतको अन्तर परेको थियो।

त्यो निर्वाचनमा भट्टराई देशभरकै सबैभन्दा ठूलो मतान्तरले विजयी हुने सांसद बनेका थिए।

यद्यपि सर्वाधिक मतान्तरको रेकर्ड भने पछि तोडिएको छ। चितवन–२ मा भएको उपनिर्वाचनमा रवि लामिछानेले ५४ हजार २७६ मत ल्याएर जित्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार जित नारायण श्रेष्ठले ११ हजार २५१ मत मात्रै पाए। दुवैबीच ४२ हजार ९६२ मतको अन्तर थियो।

तर भट्टराईले खसेको मतको प्रतिशतका आधारमा भने आफ्नो रेकर्ड अझै कायम रहेको संकेत गरेका छन्। उनले २०६४ मा खसेको मतको करिब ८३ प्रतिशत प्राप्त गरेका थिए भने लामिछानेले चितवन–२ को उपनिर्वाचनमा करिब ७५ प्रतिशत मत पाएका थिए। यस आधारमा प्रतिशतका हिसाबले भट्टराईको कीर्तिमान अझै कायम रहेको छ।

यद्यपि समयसँगै उनको चुनावी प्रभाव भने घट्दै गएको देखिन्छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गोरखा–१ बाट उम्मेदवारी दिएका उनले कांग्रेस उम्मेदवारभन्दा १३ हजार ८५३ मत बढी ल्याएर जिते पनि अघिल्लो निर्वाचनको तुलनामा मतान्तर घटेको थियो।

२०७४ सालमा नयाँ शक्तिबाट गोरखा–२ मा प्रतिस्पर्धा गरेका भट्टराईले तत्कालीन माओवादी नेता नारायणकाजी श्रेष्ठलाई ५७२ मतको झिनो अन्तरले पराजित गरेका थिए।

२०७९ को निर्वाचनमा उनले उम्मेदवारी दिएका थिएनन्। यसपटक पनि गोरखा–२ बाट चुनाव लड्ने घोषणा गरेर पछि हटेका भट्टराईले गोरखाका दुवै क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App