१० भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

बाढीमा परेकाहरूको खोज उद्धार र राहतमा सक्रियता अपनाउन सरकारलाई ध्यानाकर्षण

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले रसुवाको भोटेकोशीबाट आएको बाढीले पारेको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै खोज उद्धार र राहतमा सक्रियता अपनाउन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भोटेकोशी नदीमा आएको बाढीले प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धारमा सक्रिय भएर लाग्नको लागि सरकारसँग अनुरोध गरे।

उनले बाढीप्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार, राहत, क्षतिपूर्ति र पुनःस्थापनाको लागि लाग्न आब्हान गरे।

‘अहिलेसम्म बाढीले पुर्‍याएको क्षतिको लेखाजोखा गर्न बाँकी नै छ, अहिलेको अवस्थामा सरकारले उद्धारमा सक्रिय भएर लाग्नुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘अहिलेको कठिन परिस्थितिमा सरकारसँगसँगै विभिन्न राजनीतिक दलपनि साथसाथै रहेकाले पनि विपद्मा परेका जनताको उद्धार, राहत र पुनःस्थापनाको लागि सबै एकजुट भएर अघि बढ्न जरुरी छ।’

सांसद केसीले नुवाकोट जिल्लामा १२ वटाभन्दा धेरै पक्कीपुलमा क्षति भएको बताए।

नेपाली कांग्रेस एवं रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले राष्ट्रिय विपद् घोषणा गरेर उद्धार र राहतमा जुट्न सरकारसँग माग गरे।

‘सडक सञ्जाल टुटेकाले हेलिकप्टरबाट मात्र उद्धार सम्भव छ,’ उनले भने, ‘आज विहान भोटेकोशी खोलामा आएको बाढीले रसुवागढीदेखि तलको तटीय क्षेत्रमा बस्ने वस्ती, पक्कीपुल र जलविद्युत् संरचनाहरू बगाएको छ। प्रारम्भिक अनुमान अनुसार ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ। यो ठूलो विपत्ति हो।’

नेकपा एमालेका सांसद प्राडा पुष्पराज कंडेलले बाढीको कारणले मानवीय, भौतिक सम्पत्ति, मनोविज्ञानमा ठूलो असर पारेको बताए।

‘भौतिक सम्पत्तिमा धेरै क्षति भएको छ। मानवीयक्षतिको विस्तृत विवरण आएको छैन,’ उनले भने, ‘सरकारले राहत पुर्नस्थापन र उद्धार र पुर्ननिर्माणमा सक्रिय भएर लाग्नको लागि सरकारसँग माग गर्दछु।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बसुमाया तामाङले भोटेकोशीमा आएको बाढीले घरखेत मात्र नभएर राष्ट्रिय महत्वका पुल, सीमा भन्सार, जलविद्युतलगायतका आयोजनामा क्षति पुर्‍याएकामा सरकारको ध्यानाकर्षण गराइन्।

उनले सरकारले तत्काल हेलिकप्टर परिचालन गरेर बेपत्ताको खोजी गर्न र विस्थापितका लागि निःशुल्क खानपिन र अस्थायी बासस्थानको व्यवस्था गर्न माग गरिन्।

नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सिन्धुपाल्चोक सीमा नाका कार्यरतलाई उद्धार गर्न निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले विपद्मा कोही पनि पक्ष वा विपक्ष नहुने स्पष्ट गर्दै आफ्नो पार्टीको तर्फबाट खोज उद्धारमा  सहयोग हुने प्रतिवद्धता व्यक्त गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रभावित नागरिकलाई सबैभन्दा पहिले उद्दार र बेपत्ताको खोजीमा सरकार गम्भिर भएर परिचालन गर्नको लागि माग गरे।

उनले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका विभिन्न सडक तथा अन्य पूर्वाधारमा क्षति भएको बताउँदै सोको विषयमा गम्भिर हुन सरकारसँग अनुरोध गराए।

त्यसैगरी नेपाली कांग्रेसका सांसद सीता थपलिया, नेकपा एमालेका सांसद गंगादेवि श्रेष्ठले प्रभावितलाई तत्कालिन उद्धार गरेर सुरक्षित ठाउँमा लैजानको लागि माग गरे।

प्रकाशित: १० भाद्र २०८३ १५:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App