सहकारी ठगी प्रकरणमा मुछिएर अहिले भैरहवा कारागारमा रहेका रवि लामिछानेको पक्षमा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर अभियान जारी राखेको छ। गत असार ९ गतेयता जारी अभियानमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको छ।
रास्वपाले केन्द्रीय कार्यालय वनस्थली च:मतिमा हस्ताक्षरका लागि सहजीकरण डेक्स स्थापना गरेको छ, जहाँ दिनहुँजसो सयौंको सङ्ख्यामा हस्ताक्षरका निम्ति पुग्ने गरेका छन्। त्यहाँ पूर्वन्यायाधीश बलाराम केसीदेखि सुप्रसिद्ध कलाकार मनीषा कोइरालासम्म पुगेर हस्ताक्षर गरेका छन्।
यसैबीच जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतसमेत त्यहाँ पुगेर लामिछानेको पक्षमा हस्ताक्षर गर्ने चर्चा चलेको छ। तर, यो चर्चा चर्चामात्रै रहेको बताउँछन् जनमतका प्रवक्ता डा. शरदसिंह यादव। ‘डा.साबले समर्थन गर्नुभएकै हो रविजीहरूलाई। तर, हस्ताक्षर नै गर्ने भन्ने कुराचाहिँ मिल्दैन, उहाँले गर्नुहुन्न। प्रोटोकलहरु छन्, उहाँले हस्ताक्षर नै चाहिँ गर्नुहुन्न। यो हल्ला मात्रै हो।’
रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ। यसर्थ, राजनीतिक नेता-कार्यकर्ताहरूले लामिछानेको पक्षको हस्ताक्षरलाई त्यति समर्थन गरेका छैनन्। ठीक यहीबेला राउतले हस्ताक्षर गर्ने चर्चा चलेको हो। तर, त्यो चर्चा मात्रै रहेको जनमतले जनाएको छ।
प्रकाशित: ३० असार २०८२ १७:१२ सोमबार





