१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

बाढी प्रभावित क्षेत्रमा प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाइने

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन प्रदेशदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र निर्माण गर्ने सहमति भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार मंगलबार बसेको सर्वदलीय बैठकले विपद् प्रभावित जिल्लामा सबै राजनीतिक दललाई समेटेर समन्वयात्मक संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो।

खरेलले प्रदेश र स्थानीय तहसम्मै यस्तो संयन्त्र विस्तार गरी सबै दलसँग समन्वय गरेर उद्धार तथा राहतका काम अघि बढाइने बताए। उनका अनुसार रास्वपा सभापति रवि लामिछानेको सक्रियतामा यसअघि नै लुज नेटवर्कका रूपमा समन्वयको पहल सुरु भइसकेको छ।

सर्वदलीय बैठकमा विपक्षी दलका तर्फबाट समेत महत्वपूर्ण सुझाव आएको र सरकारले ती सुझावलाई समेटेर अघि बढ्ने विश्वास खरेलले व्यक्त गरे।

उनका अनुसार अहिले प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका काम तीव्र रूपमा भइरहेका छन्। त्यसपछि पुनर्निर्माण र दीर्घकालीन व्यवस्थापनका लागि समेत बलियो राजनीतिक संयन्त्र आवश्यक पर्ने विषयमा दलहरूबीच सहमति बनेको छ।

खरेलले यसपटकको बाढीपहिरोबाट भएको क्षति भूकम्पको भन्दा पनि ठूलो देखिएको दाबी गर्दै विपद्को दीर्घकालीन समाधानका लागि राजनीतिक दलहरूबीच साझा धारणा आवश्यक रहेको बताए।

सर्वदलीय बैठकमा सरकारका तर्फबाट गृहमन्त्री र अर्थमन्त्रीको सहभागिता रहेको उल्लेख गर्दै उनले सरकार राजनीतिक दलबाट प्राप्त सुझावलाई समेटेर अघि बढिरहेको बताए।

यद्यपि, विपद् पूर्वजोखिम न्यूनीकरणमा सरकारले पर्याप्त ध्यान दिन नसकेको कमजोरी स्वीकार गर्दै आगामी दिनमा त्यसको गम्भीर समीक्षा गरिने उनले बताए।

रास्वपा र सरकारबीचको सम्बन्ध सुमधुर रहेको दाबी गर्दै खरेलले बाढीपहिरोको संकट तथा समसामयिक विषयमा प्रधानमन्त्री र पार्टी सभापति रवि लामिछानेबीच नियमित संवाद भइरहेको जानकारीसमेत दिए।

प्रकाशित: १६ भाद्र २०८३ १८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App