नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजदेखि सर्लाही–४ बाट आफ्नो चुनावी प्रचार अभियान सुरु गरेका छन्। एक भिडियो सन्देशमार्फत उनले काठमाडौं–४ बाट पाएको माया, भरोसा र शुभेच्छा लिएर सर्लाही आएको बताएका छन्।
‘म मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु। काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु र मधेसका कथाहरू, पीडाहरू र व्यथालाई बुझेर काठमाडौं ल्याउन पनि चाहन्छु,’ थापाले भनेका छन्। सबैको सम्मान कायम रहँदा मात्रै नेपालीको सम्मान सुरक्षित रहने विश्वास व्यक्त गर्दै उनले उत्तेजनाको राजनीतिमा आफू विश्वास नगर्ने तर अधिकारबिनाको एकतामा पनि भरोसा नराख्ने स्पष्ट पारे।
पहिलो संविधानसभा निर्वाचनदेखि २०७९ सालसम्म काठमाडौं–४ सँग निरन्तर जोडिएको अनुभव स्मरण गर्दै थापाले यसपटक पनि त्यही क्षेत्रबाट चुनाव लड्न नछोड्न साथीभाइ र शुभेच्छुकहरूले सुझाव दिएको बताए। आफू भर्खर पार्टी सभापति बनेको र काठमाडौं–४ झनै सहज क्षेत्र भएकाले नछोड्न दबाब आएको उनले स्वीकार गरेका छन्।
काठमाडौंमा जन्मिएर सहरको जीवन र त्यसका कठिनाइ बुझ्ने अवसर पाएको उल्लेख गर्दै राष्ट्रिय पार्टीको जिम्मेवारी निर्वाह गर्ने क्रममा मधेससँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहना बढेको थापाले बताए।
‘मधेसको प्रतिनिधित्व गर्दै त्यहाँका मुद्दा बुझ्दै समाधानको पहल गर्दा सिङ्गो नेपालको मुद्दा समाधानमा पनि आफ्नो भूमिका बलियो बनाउन सक्छु भन्ने विश्वास छ,’ उनले भने।
सिङ्गो देशको नेता बन्न मधेसको माटो टेक्न, ढोग्न र त्यहाँको आशीर्वाद लिन आवश्यक ठानेर सर्लाही आएको थापाको भनाइ छ।
प्रकाशित: १२ माघ २०८२ १५:२९ सोमबार





