निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन गर्न नमिल्ने अन्तर्राष्ट्रिय निर्वाचन कानुनको मान्यता रहेको बताएका छन्।
राजधानीमा मंगलबार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारीहरूका लागि आयोजित अभिमुखीकरणको समापनमा बोल्दै आयुक्त भण्डारीले निर्वाचन घोषणा भइसकेपछि प्रणाली परिवर्तन गर्नुपर्ने दबाब निर्वाचन आयोगमाथि आएको बताए।
उनले भने, ‘निर्वाचनको मिति घोषणा भएपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन। यसो गरे अन्तर्राष्ट्रिय स्तरमा हाम्रो निर्वाचनको निष्ठामाथि प्रश्न उठ्न सक्छ।’
उनले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनलाई मान्यता नदिएमा वा दबाब र प्रभावमा भएको निर्वाचन ठहर गरेमा त्यसको प्रतिफल अन्तर्राष्ट्रिय स्तरमै नकारात्मक हुने बताए। हाल विदेशी सहायता उपलब्ध नभएको कारण मुलुकभित्रकै स्रोत र शक्तिको प्रयोग गरेर निर्वाचन गराउने प्रकृयामा रहेको बताएका थिए। त्यसैगरी बैदेशिक सहायताबाट प्राप्त हुने सवारीसाधन आवश्यकता अनुसार सम्बन्धित ठाउँमा व्यवस्थापन गरिने उनको भनाइ रहेको छ।
विगतमा आचारसंहिता अनुगमनमा कोष तथा लेखा नियन्त्रण अधिकारी र अनुगमन अधिकारीले अपेक्षित परिणाम नदिएको बताउँदै उनले अभिमुखीकरण कार्यक्रमकै क्रममा आएका समस्याको पहिचान र समाधानका समयमा ध्यान दिनुपर्ने बताए। साथै सबै निर्वाचन कार्यालय जिल्ला सदरमुकाममै राख्ने विषय आयोगको एकल निर्णयबाट सम्भव नभएको बताउँदै उनले शान्ति सुरक्षा लगायतका विषयमा सरकारसँग समन्वय आवश्यक रहेको बताए।
वर्तमान सुरक्षा अवस्थाका कारण निर्वाचन क्षेत्रभित्र जान नसकिने अवस्थामा सदरमुकाममै कार्यालय राखेर निर्वाचन गराउन सरकार र आयोग तयार रहेको भनाइ उनको छ। त्यसैगरी मिसइन्फर्मेसन, डिसइन्फर्मेसन तथा हेट स्पिच निर्वाचनका लागि गम्भीर चुनौती बनेको भन्दै आयोग यस विषयमा सचेत रहेको बताए।
प्रकाशित: ३० पुस २०८२ ०८:४३ बुधबार





