५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

किसान फकाउन उम्मेदवार खेतबारीमै

खेतबारीमा पुगेर भोट माग्दै उम्मेदवार।

कालिकोटका मतदातालाई आगामी मंसिर ४ मा हुने चुनावभन्दा मेलापातकै चटारो बढी छ।

कात्तिक र मंसिर अन्नबाली भित्र्याउने तथा लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो। धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन्। कालिकोट नरहरिनाथ गाउँपालिका १ का अक्कल बिष्टले गहुँबाली लगाउन र धानबाली भित्र्याउन व्यस्त रहेको बताए।

‘अहिले हामी बाली लगाउने र भित्र्याउने काममा व्यस्त छौं। उनले भने, ‘दुई महिना त बाली लगाउने महिना हो। त्यसैले गाउँका प्रायः सबै खेतबारीमा रहने गरेका छन्।’ दलहरूका चुनावी एजेन्डा मात्र होइन, मेलापातका काममा व्यस्त रहँदा मतदाता शिक्षाबारेमा पनि जानकारी नभएको पचाल झरना गाउँपालिकाका भीम आचार्यलले बताए। ‘मतदान कसरी गर्ने हो, त्यो विषयमा पनि हामीलाई जानकारी दिन कोही आएका छैनन्’, उनले भने, ‘मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुने सम्भावना रहन्छ।’

मतदाता मेलापातमा व्यस्त भएकाले दलका नेता तथा उम्मेदवार खेतबारीमै गएर मत माग्ने गरेको र आफूहरूले मतदाता शिक्षा लगायतका काम अगाडि बढाएको नेकपा एमाले कालिकोटका जिल्ला अध्यक्ष जसीप्रसाद पाण्डेले बताए। ‘मतदाता अहिले घर, गाउँ र टोलमा भेटिँदैनन्। सबै खेतबारीका काममा व्यस्त रहनुभएको छ’, उनले भने, ‘प्रचारमा खटिएका कार्यकर्ता तथा उम्मेदवार खेतबारीमै गएर मतदातासँग आफ्नो चुनावी एजेन्डा र मतदाता भेटघाट गरिरहनुभएको छ।’

उम्मेदवारी मनोनयनदेखि हालसम्म बढीमा २५ जनाको समूहमा घरदैलो गरेका उम्मेदवारले बृहत् कार्यक्रम आयोजना गर्न थालेका छन्। दलका उम्मेदवारले आमसभा, र्‍याली, जुलुस र प्रचारप्रसारलाई तीव्र बनाएका छन्। अहिले ठाउँठाउँमा चुनावीसभा आयोजना हुन थालेका छन् कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्रबहादुर शाही र प्रदेशसभा १(२) का उम्मेदवार हिक्मतबहादुर विष्टको टोलीले विकासका प्रतिबद्धता जनाएका छन्।

यस्तै एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार नगिन्द्र शाही र प्रदेशसभाका उम्मेदवार वीरेन्द्रबहादुर बोगटीले सान्नी त्रिवेणीमा मतदाताका घरघरमा पुगेर मत मागिरहेका छन्। शाहीले कालिकोटको आर्थिक विकास, स्वरोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत्, सिँचाइ लगायतका पूर्वाधारसहित कर्णालीमैत्री कानुन बनाउन आफूलाई मत दिनुपर्ने बताउँछन्। ‘कालिकोट समृद्धिको योजना मसँग छ’, उनले भने, ‘अरूलाई पटकपटक हेरिसक्नुभयो, हामीलाई एकपल्ट हेर्नुहोस्।’

प्रकाशित: २१ कार्तिक २०७९ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App