६ वैशाख २०८१ बिहीबार
राजनीति

हामी झुटा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्दैनौं: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन र आफूले जनतालाई भ्रममा पारेर झुट्टा आश्वासन नबाँड्ने बताएका छन्।

उनले केही राजनीतिक दल र तीनका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने कामको जस लिएर झुट्टा आश्वासन बाँडेको भन्दै जनतालाई भ्रममा पार्ने काम राजनीतिक नेतृत्वले गर्न नहुने बताए।

पाँच दलीय गठबन्धनका तर्फबाट रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवार रहेका खाँणले आइतबार बुटवल उपमहानगरपालिका–१५ मा आयोजित कार्यक्रममा बोल्दै निर्वाचन जित्नका लागि जनतालाई भ्रममा पार्ने नेताहरु सफल नहुने  बताए।  

जनतालाइ भ्रममा पार्ने उम्मेदवारलाई जनताले समयमै चिन्नुपर्ने उनको भनाइ थियो। ‘हामी गठबन्धनका उम्मेदवारहरुले जे गर्छौ त्यही बोल्छौं तर ‘यहाँ त केही उम्मेदवारहरुले जनतालाई भ्रमित पार्ने गरी झुट्टा आश्वासन बाँडिरहेका छन्, उम्मेदवार बन्दैमा यसरी ढाट्दै हिंड्नेले भोलि जिते भने क्षेत्र, रुपन्देही र मुलुकको विकास कसरी गर्न सक्छन्?गृहमन्त्री समेत रहेका खाँणले भने।

गौतमबुद्ध विमानस्थल,विशेष आर्थिक क्षेत्र (सेज), बेलहिया–बुटवल व्यापारिक मार्ग, तिनाउ, दानव नदीका पुल जस्ता राष्ट्रिय महत्वका योजनाहरु देखाएर विकासको जस लिन खोज्नेका यथार्थ बुझ्न आम मतदातासँग उनले आग्रह गरे। ‘गौतमबुद्ध विमानस्थल बन्नुपर्छ भन्ने आवाज उठाउने नेपाली काँग्रेस हो, त्यसको माग हामीले गरेका थियौं। तपाईंहरु भ्रम छर्ने उम्मेदवारहरुलाई प्रश्न गर्नुस्, विमानस्थल शिलान्यास हुँदा ती नेता कहाँ थिए, निर्माण हुने क्रममा विमानस्थलमा कतिपटक पुगे, उद्घाटनमा सहभागी भए की भएनन् ?’, राप्रपा नेता दीपक बोहराप्रति लक्षित गर्दै खाँणले भने,  

उनले पञ्चायत,राजतन्त्र फाल्दा र मुलुकमा संविधान जारी गर्दा आफूहरुले जे बोलेको, त्यो पूरा गरेको भन्दै विकास र समृद्धिका मुद्धामा पनि काँग्रेसले बोलेको कुरा पुरा गरी छाड्ने बताए। अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउने उनको भनाइ थियो। खाँणले सियारी, शुद्धोधन, बुटवलका केही वडाहरु र अन्य पालिकाका कृषि उत्पादन बढी हुने क्षेत्रलाई समेटेर कृषिमा आधुनिकीकरण गरिने बताए। ‘कृषिलाई जनताको समृद्धिसँग जोडेर हामीले काम गर्नेछौं, यसले आर्थिक विकास र मुलुकको समृद्धिमा टेवा पुग्नेछ’, उनले भने। यसको पहिलो सुरुवात सेमलारमा सरकारले २ अर्ब लागतमा कृषि थोक बजार निर्माण प्रक्रिया अघि बढाएको बताए।  

क्षेत्र नम्बर ३ (२)का उम्मेदवार रामचन्द्र ढकालले निर्वाचनका बेला भ्रम छर्नेहरु यसपटक पनि उम्मेदवार भएर फेरि हुने नहुने आश्वासन बाँडिरहेको भन्दै यसतर्फ सचेत हुन मतदातासँग आग्रह गरे। ‘पटकपटक मन्त्री हुँदा क्षेत्र र जिल्लाको विकासमा कुनै योगदान नदिनेले अहिले यसो गर्छु र उसो गर्छु भन्नु चुनावी फन्डा मात्रै हो’ नेता ढकालले भने। उनले आफनो क्षेत्रलाइ कृषि उत्पादनको मुख्य क्षेत्र बनाएर कृषिको आधुनिकीकरण गर्दै जनताको जीवनस्तरमा परिर्वतन ल्याउने उनले बताए।

प्रकाशित: २० कार्तिक २०७९ १३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App