७ वैशाख २०८१ शुक्रबार
राजनीति

नयाँ र पुरानो पुस्ताबीच मुख्य प्रतिस्पर्धा

नेकपा एमालेका नेता ईश्वर पोखरेल २०६१ सालमा राजाको प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी हुँदै गर्दा प्रदीप पौडेल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको उपाध्यक्षको जिम्मेवारीमा थिए। त्यतिबेला पौडेल २०५९ असोज १८ को राजाको कदमलाई प्रतिगमन भन्दै काठमाडौंका सडकमा नारा लगाइरहेका थिए। पोखरेल अहिले एमालेको वरिष्ठ उपाध्यक्ष र पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। ठूला राजनीतिक दलबाट पुरानो पुस्ताका पोखरेल र नयाँ पुस्ताका पौडेल प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धामा छन्।  

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गर्न पौडेल नयाँ ऊर्जा, सम्भावना र सपनासहित जुटेका छन् भने संसदीय राजनीतिका अनुभवी पोखरेल आफ्नो जितलाई निरन्तरता दिन सक्रिय छन्। पोखरेल र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको यस क्षेत्रमा रन्जु दर्शनासहित अढाइ दर्जनजति उम्मेदवार छन्।  

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणामका आधारमा एमाले उम्मेदवार पोखरेल आफ्नो जित हुने बुझाइमा छन्। तर २०६४ पछिका दुई चुनाव कांग्रेस नेता नरहरि आचार्यसँग हारेका पोखरेल ढुक्क हुने अवस्थामा भने छैनन्। नयाँ जोश, सम्भावना र सपनासहित चुनावी मैदानमा उत्रिएका पौडेललाई युवासँगै पाका पुस्ताको पनि समर्थन जाँदा स्थानीय तहको निर्वाचन परिणाम उल्टिन सक्ने आकलन पनि छ। पौडेल सत्ता गठबन्धनका उम्मेदवार हुन्। उनलाई गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) समेतको समर्थन छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका दलहरूले पोखरेललाई मत दिने उनी पक्षधरको बुझाइ छ। तर राप्रपाका कार्यकर्ता भने आफ्ना उम्मेदवारलाई एमालेले तीनवटा निर्वाचन क्षेत्रमा मात्र सघाउने भनेपछि असन्तुष्ट छन्।  

एमालेले चितवन, काठमाडौं सहितको क्षेत्रमा राप्रपाका उम्मेदवारलाई सहयोग नगरेको बताउँदै एक नेताले भने, ‘यी जिल्लामा हाम्रो कसैसँग तालमेल छैन, हामी मित्रवत प्रतिस्पर्धामा छाैं । पार्टीकै उम्मेदवार छन् ।’ 

निर्वाचनमा नयाँ मतदाता र राप्रपाको मत निर्णायक हुन सक्ने आकलन छ । पोखरेल र पौडेलका लागि स्वतन्त्र उम्मेदवार पनि भारी पर्ने देखिन्छन् । चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारहरूले लिने मतले निर्वाचन परिणामलाई तलमाथि पार्न सक्छ । विगतमा पटकपटक लाभको पदमा बसेका पोखरेलविरुद्ध प्रतिस्पर्धी उम्मेदवारले प्रश्न उठाएका छन् । पोखरेल विगतमा विभिन्न विषयमा विवादमा आएका थिए । यिनै विषय प्रतिस्पर्धी उम्मेदवारले चुनावी सभामा उठाइरहेका छन् ।

कांग्रेस उम्मेदवार पौडेल अहिलेसम्म संसदीय भूमिकामा नपुगेको र विवादमा पनि नमुछिएका व्यक्ति हुन् । पोखरेलले ‘ओम्नीदेखि गोकर्ण फरेस्ट लिज’ सम्मका विवादमा मुछिएका थिए । पछिल्लोपटक सरकारमा मन्त्री हुँदा नेपाल ट्रस्ट ऐन संशोधनको विवादमा तानिएका उनीमाथि ‘कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ मा बसेर प्रभावकारी नेतृत्व दिन नसकेको आरोप पनि लाग्यो ।  

स्वतन्त्र मुख्य चुनौती 

काठमाडौं ५ मा अहिले दलका रस्वतन्त्र १४ गरी अढाई दर्जनजति उम्मेदवार छन् । मुख्य दलका उम्मेदवारलाई स्वतन्त्रबाट चुनौती देखिन्छ । स्वतन्त्र भनिए पनि उम्मेदवारी घोषणा गरका प्रणयशमशेर राणा विगतमा कांग्रेसमा र सुशान्त श्रेष्ठ एमालेमा सक्रिय थिए। त्यस्तै पार्टीबाट निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्रबाट उठेका आधा दर्जन छन् ।  

स्वतन्त्रमध्ये केहीले मुख्य दलका उम्मेदवारलाई टक्कर दिने अवस्था रहेको बाबुराम पोखरल बताउँछन् । बाबुराम स्वयं उम्मेदवार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा गएर भाषण गरको  भन्दै राणालाई कांग्रेसले कारबाही गरको  थियो । यो निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई प्रतिस्पर्धा गर्दैछन् । उनी कांग्रेसको भोट तान्न र कांग्रेसकै उम्मेदवारलाई पछि पार्ने रणनीतिमा छन् । उनले चुनावी घोषणापत्रमा विकास निर्माण, जनजीविकाका विभिन्न विषय, स्वास्थ्य सुरक्षा, सडक सुरक्षा स्थानीय सरकारको भूमिका बढाउने जस्ता विषय उठाएका छन् ।

स्वतन्त्रबाट उम्मेदवार बनेकी रन्जु दर्शना पनि चुनाव प्रचारप्रसारमा सक्रिय छन् । २०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी उनले २३ हजार ४३९ मत प्राप्त गरकी थिइन्  । स्थानीय तहमा विकास तथा व्यवस्थित नगरका विषयलाई उनले चुनावी अजेन्डाको रुपमा अगाडि सारकी छिन्  । ‘स्वतन्त्रले पनि राम्रा अजेन्डा अगाडि सारका छन् । स्वतन्त्रप्रति अहिले मतदाताले पनि निकै चासो देखाएका छन्,’ उनले भनिन् ।

काठमाडौं ५ मा काठमाडौं महानगरपालिकाका २, ३, ४, ५, टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ र बुढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ वडा पर्दछन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने काठमाडौं ५ मा एमालेको १९ हजार २२९, कांग्रेसको १४ हजार ५३२, राप्रपाको २ हजार ७३९, नेकपा एसको १ हजार ५५३ र माओवादी केन्द्रको १ हजार १३९ मत छ ।

आआफ्नै अजेन्डा  

पौडेलले चुनावी मैदानमा राजनीतिका निष्ठा, इमानदारी, भ्रष्टाचार नियन्त्रण तथा सुशासन जस्ता विषयलाई मुख्य मुद्दा बनाएका छन् । मतदाताले तिरेको  करबाटै राजधानी सहरव्यवस्थित र सभ्य बनाउने, वाग्मती–विष्णुमति सभ्यता संरक्षण गर्ने, नागरिकको स्वास्थ्य शिक्षा र उपचारमा सहज पहुँच पु¥याउने, रोजगारी सिर्जना गर्नेजस्ता विषयलाई पनि उनले उत्तिकै महत्वका साथ उठाएका छन् । पोखरेलले धापासीलाई सांस्कृतिक सहर बनाउने, चक्रपथ विस्तार, रसुवा–छहरे–टिमुरे सुरुङ मार्ग निर्माण, पूर्वाधार विकासलाई मुख्य अजेन्डा बनाएका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए चीनसँगको पारवहन सम्झौता कार्यान्वयन गर्ने, पार्टीले उठाएको समृद्ध नेपाल सुखी नेपाली नारालाई साकार पार्न पहल गर्नेलगायतका वाचा गरेर मतदातामाझ पुगिरहेका छन् ।  

एमालेलाई होला लाभ?  

काठमाडौं ५ बाट २०५६ र २०७४ सालमा पोखरेल निर्वाचित भएका थिए । संविधानसभाका दुईवटा निर्वाचनमा भने कांग्रेस नेता नरहरि आचार्यले जितेका थिए । स्वास्थ्यका कारण सक्रिय राजनीतिबाट केही टाढा रहेका आचार्य पौडेलको पक्षमा भने खुलेका छन् । आचार्यको स्वास्थ्यमा समस्या देखिएका कारण २०७४ सालमा कांग्रेसले काठमाडौं ५ मा प्रकाशशरण महतलाई उम्मेदवार बनाएको थियो । पोखरेलले २३ हजार २९ मतसहित जित निकाल्दा महतले १३ हजार १६९ मत पाएका थिए । अहिले महत समानुपातिकमा बसेपछि पौडेललाई यस क्षेत्रको उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेकाे हो । २०५६ सालमा यो क्षेत्रबाट कांग्रेस चिरञ्जीवी तिवारी उम्मेदवार बनेका थिए। त्यस्तै कांग्रेसले यो क्षेत्रबाट ०५२ सालको मध्यावधि निर्वाचनमा प्रकाशशरण महत र २०४८ सालको निर्वाचनमा मंगलादेवी सिंहलाई उम्मेदवार बनाएको थियो । एमाले र माओवादी गठबन्धनको बलमा २०७४ सालको निर्वाचन परिणाम पोखरेलले आफ्नो पक्षमा पारेकोे तर अहिले त्यस्तो नहुने प्रतिस्पर्धी पौडेल बताउँछन् । निर्वाचन परिणाम कांग्रेसको पक्षमा आउने उनले बताए। स्थानीय तहमा कांग्रेस एक्लै लडेको र अहिले गठबन्धन हुँदा जनमत बलियो बनेको पौडेलको बुझाइ छ । पोखरल भने  यो क्षेत्रमा आफूले गरेकोे विकास निर्माण र निरन्तरतालाई आफ्नो जितको मुख्य आधार बताउँछन् ।

को हुन् ईश्वर पोखरेल?

ओखलढुंगामा जन्मिएका ६८ वर्षीय ईश्वर पोखरल २०२७ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । तत्कालीन मालेको संस्थापक केन्द्रीय सदस्य रहेका उनी एमाले केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख, संगठन विभाग प्रमुख र दुई कार्यकाल महासचिव भइसकेका छन् । अहिले पार्टीको वरिष्ठ उपाध्यक्ष पोखरलले े बी. एड. उत्तीर्ण हुन् । २०६१ सालमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका पोखरल २०६९ मा उपप्रधानमन्त्रीसहित पराराष्ट्र, कृषि विकास, युवा तथा खेलकुद र २०७४ को निर्वाचनपछि रक्षामन्त्री भए थिए।

को हुन् प्रदीप पौडेल?

४७ वर्षीय प्रदीप पौडेल तनहुँको ढोरफिर्दीमा जन्मिएका हुन् । काठमाडौंको सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसी र अस्कल क्याम्पसबाट आइएसी गरका पौडेल अस्कल क्याम्पसमा नेवि संघबाट स्ववियु सभापति निर्वाचित भएका थिए। उनी २०६४ सालमा नेवि संघको अध्यक्ष बने । १३औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित उनी १४ औं महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेका थिए। अहिले उनी मनोनीत केन्द्रीय सदस्य छन् । उनले त्रिविबाट मानविकीमा स्नातकोत्तर गरका छन्।

प्रकाशित: १६ कार्तिक २०७९ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App