१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

शहीदका सपना साकार पार्नु सबैको दायित्व होः जेन–जी अभियन्ता

शहीद दिवसको अवसरमा जेन–जी अभियान्ताहरूले  सबै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धा व्यक्त गर्दै गहिरो सम्झना गरेका छन्। उनीहरूले वि सं १९९७ मा प्रजातन्त्रका लागि आवाज उठाउँदै बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ लगायत भदौ २३ गतेको जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त शहीदहरूलाई स्मरण गरेका छन्।  

जेन–जी अभियान्ताहरूले सहिदहरूको पहिलो र साझा सपना समतामूलक, न्यायपूर्ण र समावेशी समाज निर्माण रहेको भन्दै उनीहरुका  सपना साकार पार्नु सबै नागरिकको साझा दायित्व भएको बताएका छन्। 

जेन जी अभियान्ता युजन राज भण्डारीले परिवर्तन, न्याय र  स्वतन्त्रताका लागि जीवन अर्पण गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याउने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धासुमन व्यक्ति गरेका छन् । ‘शहीदहरूको त्याग, बलिदान र साहसकै कारण आज हामी स्वतन्त्र रूपमा बोल्न, सोच्न र उज्यालो भविष्यको सपना देख्न सक्षम भएका छौँ,’ उनले भने। उनले शहीदहरूले कल्पना गरेको समतामूलक, समावेशी, भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल निर्माण नै सच्चा श्रद्धाञ्जली हुने बताए। 

यसैगरी जेन जी आन्दोलनकी अभियान्ता रक्षा बमले अधिकार माग्दा ज्यान गुमाउनुपर्ने दिनहरूको अन्त्य हुनुपर्ने बताएकी छिन् । उनले शहीदहरूको बलिदानी, संघर्ष र चेतनाको अपमान कसैले गर्न नहुने र सहिदका सपना सबैको साझा जिम्मेवारी रहेको बताए । ‘अब फेरि कसैले पनि रगत बगाउन नपरोस्,” उनले भनिन्।  

अर्की अभियान्ता तनुजा पाण्डेले परिवर्तन र न्यायका लागि प्राण आहुति दिने वीर मुटुहरूकै कारण आज देश स्वतन्त्र रूपमा श्वास फेर्न सक्षम भएको बताएकी छिन् । उनले इतिहासका हरेक कालखण्डसँगै जेन जी नवयुवाहरूको विद्रोहमा सहादत प्राप्त शहीदहरूको सपना समुन्नत र समतामूलक समाज निर्माण गर्नु रहेको बताएकी छिन् । उनले नेतृत्व परिवर्तन वा व्यवस्था प्राप्तिका नाममा अब फेरि कसैले पनि ज्यान गुमाउन नपर्ने वातावरण निर्माण गर्न आवश्यकता रहेको बताइन्। 

त्यस्तैगरी  जेन जी अभियान्ता ऋषि थापाले क्रूर राणाशासनको अन्त्यदेखि कुशासन र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा जीवन बलिदान गर्ने सम्पूर्ण शहीदहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। ‘सहिद हुनु भनेको अमर हुनु हो’ उनले भने । देशमा आज देखिएको आशा र भोलिको सम्भावना सहिदहरूको योगदानकै परिणाम भएको बताए। 

प्रकाशित: १६ माघ २०८२ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App