४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदाता रिझाउन घरदैलोमै चामल !

मतदाता प्रभावित गर्ने योजनासहित नेकपा एमालेका कार्यकर्ताले मतदातालाई चामल वितरण गरेको पाइएको छ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन एमालेका स्थानीय नेताले चामल वितरण गरेको भेटिएको हो। मालिका गाउँपालिका ३, इग्रे, लामखोरिया र श्यामगरामा विपन्न र दलित समुदायलाई चामल वितरण गरेको भेटिएको जानकारी वाम-लोकतान्त्रिक गठबन्धनको निर्वाचन टोलीले दिएको छ।

नेकपा एमाले प्रदेशसभा क्षेत्र ख चुनाव परिचालक समितिले चामल पठाएको स्थानीयले बताएका छन्। २५ किलोग्राम तौल भएको कमल ब्रान्डको युएस प्रिमियम चामल १८ बोरा पठाएकोमा १० बोरा स्थानीयलाई वितरण गरेको र आठ बोरा चामल शनिबार फिर्ता गरिएको छ। स्थानीयका अनुसार तिहारअघि इग्रेमा पुगेका नेकपा एमालेका नेता खरमाया विटालु र मालिका गाउँपालिकाका जनप्रतिनिधिसहितको टोलीले मतदातालाई भेटघाट गरेर फर्केपछि दरबाङका व्यापारीको बोलेरो गाडीमा चामल पठाएको थियो।

आचारसंहिता लागु भइसकेको अवस्थामा लोभलालच देखाउने वा आर्थिक प्रलोभन देखाउने कुनै काम गर्न नपाइने जिल्ला निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले बताए। ‘हामीलाई कुनै गुनासो र उजुरी आएको छैन। आचारसंहिता दुरूपयोगको अनुगमन हुन्छ’, अधिकृत घिमिरेले भने। यता मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तेजनाथ पौडेलले जिल्लाबाहिर भएकाले उजुरीका बारेमा कुनै जानकारी नभएको बताए। चुनावको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने व्यवस्था रहेकोमा म्याग्दीमा विपन्न वर्ग, आमा समूह, युवा क्लब र दलको जनआधार कमजोर भएका क्षेत्रका मतदातालाई आर्थिक तथा चामल, बियर, नुन, तेल लगायतका खाद्य तथा पेयपदार्थ वितरणका साथै आफूले जितेको पालिकाबाट बजेटको आश्वासन दिएर मतदाता किन्ने प्रयास भइरहेको गुनासो आउने गरेको छ।

प्रकाशित: १४ कार्तिक २०७९ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App