१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनका उम्मेदवारहरु भन्छन्, गठबन्धनको मत दायाँ–बायाँ हुन्न

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्ताधारी दलहरु गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन्। विभिन्न दलगत भागवण्डाका आधारमा उम्मेदवारी विभाजन गरेर चुनावी मैदानमा उत्रिएका गठबन्धनमा आवद्ध दलहरुले आगामी निर्वाचनमा बलियो सहकार्य निर्माण गर्ने अठोट समेत गरेका छन्।

तथापि गठबन्धन कार्यान्वयनको पाटो कति बलियो होला भन्ने प्रश्न पनि सँगसँगै उब्जिएकै छ। एकले अर्को दलको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्ने योजना पेचिलो हुने लख काटिएकै छ। तथापि गठबन्धनमा आवद्ध उम्मेदवारहरुले भने गठबन्धन कार्यान्वयनमा कुनै आशंका नरहने दाबी गर्छन्।

अहिलको निर्वाचन दलहरुबीचको हारजीतको लडाइँ भन्दा पनि राष्ट्रियता जोगाउने र भत्काउने शक्तिहरु बिचको लडाइँ भएको भन्दै गठबन्धनका उम्मेदवारहरुले आगामी निर्वाचनमा राष्ट्रियताको पक्षमा जनमत उभिने दाबी गरिरहेका छन्।

गठबन्धनका तर्फबाट दाङ २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा शर्माले आगामी निर्वाचनमा गठबन्धन कार्यान्वयनमा कुनै आशंका नरहने दाबी गर्छिन्। उनले गठबन्धनको बलियो कार्यान्वयनका लागि तल्लो तह सम्मकै कार्यकर्ताहरु सकृय भएर लागेको बताइन्।

‘सबै मतदाताहरुलाई अहिलेको गठबन्धनको आवश्यक्ता बोध हुन आवश्यक छ,’ उनले भनिन् ‘यो सन्देश आम मतदाताहरु समक्ष पुगिरहेको पनि छ, र आगामी निर्वाचनमा गठबन्धनको मत दायाँ बायाँ भएर बाहिर कतै जाने छैन।’ उनले गठबन्धनको मत कायम राख्न सके जीत सहज भएको भन्दै आफू लगाएत गठबन्धनको पुरै शक्ति मत जोगाउन केन्द्रीत भएको बताइन्।

गठबन्धनको बलियो कार्यान्वयनका लागि यसमा अवद्ध दलका नेता तथा कार्यकर्ताहरु तल्लो तह सम्मै सकृय रहेको भन्दै दलहरुले चुनावी अभियानका कार्यक्रमहरुमा समेत सहकार्यको वातावरण निर्माण गरिएको समेत बताएका छन्।

‘चुनावी अभियान अन्तर्गतका कार्यक्रमहरु तल्लो तह सम्मै गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुको संयुक्त सहभागीतामा भैरहेका छन्,’ दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मेटमणी चौधरीले भने ‘यो सहकार्यले मन माझ्ने काम पनि भैरहेको छ।’ संघीय सरकारका सहरी विकास मन्त्री चौधरी नेकपा एकीकृत समाजवादीका तर्फबाट गठबन्धनका साझा उम्मेदवार हुन्।

दाङ २ ख का प्रदेशसभा सदस्य उम्मेदवार तथा कांग्रेस लुम्बिनी प्रदेशका प्रवक्ता प्रचण्ड न्यौपानेले आगामी निर्वाचनमा गठबन्धनका बीचमा कुनै ‘तुष’ कायम नरहने दाबी गरे। स्थानीय तहको निर्वाचनमा सामान्य केही असन्तुष्टि देखिएको भएपनि आगामी निर्वाचनमा त्यो असन्तुष्टि कायम नहुने उनको भनाइ छ।

‘स्थानीय तहको निर्वाचनमा आकांक्षीहरु धेरै हुने भएकाले थोरै असन्तुष्टिहरु देखिनु स्वाभाविक हो, तर अहिलेको निर्वाचन स्थानीय तहको निर्वाचन हैन,’ न्यौपानेले भने ‘यो निर्वाचन संविधानको रक्षा गर्नेहरुकै पक्षमा हुने छ,मतदाताहरुले संविधान मास्न खोज्नेहरुलाई चिनिसक्नु भएको छ।’ 

यसैगरी दाङ २ क का प्रदेशसभा सदस्य उम्मेदवार राजु खनालको तर्क पनि गठबन्ध कार्यान्वयनमा कुनै आशंका नरहने भन्ने नै छ। विपक्षी दलका उम्मेदवारहरुले गठबन्धन कार्यान्वयनलाई विफल बनाउनका लागि नकारात्मक प्रचारहरु गरेको भएपनि गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरु गठबन्धन कार्यान्वयनमा प्रतिवद्ध भैसकेको उनको भनाइ छ।

‘गठबन्धनमा आवद्ध दलका बीचमा तिक्तता फैलाउने काम विपक्षीहरुबाट नभएक हैनन्,’ उनले भने ‘तथापी संविधान मास्न खोज्ने ति शक्तिहरुलाई मतदाताहरुले राम्रोसँग चिनिसकेको अवस्था छ, फलतः आगमी निर्वाचनमा गठबन्धनको जीत सहज छ।’

पुनः प्रदेशसभामा जीत दोहोर्याउन खोजेका दाङ क्षेत्र नम्बर १ (क) का उम्मेदवार इन्द्रजीत चौधरीले आफ्नो क्षेत्रमा गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरुका बीचमा पारस्परिक सहकार्यको वातावरण निर्माण भएको बताए। लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री समेत रहेका चौधरीले एकले अर्को दलको अस्तित्व स्वीकारेर मतदान गर्ने वातावरण निर्माण भएको र गठबन्धनको मत आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवार भन्दा बाहिर नजाने दाबी गरे।

‘मैले मेरो क्षेत्रका माओवादी कार्यकर्ता साथीहरुलाई गठबन्धनमा आवद्ध सबै दलका नेता तथा कार्यकर्ताहरुसँग सामिप्यमा रहेर चुनावी गतिविधि गर्न सुझाव दिएको छु,’ उनले भने ‘गाउँ तहसम्म फरक फरक दलका हामी नेता तथा कार्यकर्ताहरुको बीचमा राम्रो समन्वय भएको छ, चुनावमा गठबन्धनको पुरै मत गठबन्धनकै पक्षमा खस्ने छ।’

प्रकाशित: ११ कार्तिक २०७९ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App