८ वैशाख २०८१ शनिबार
राजनीति

डा. स्वर्णिम वाग्लेले किन अस्वीकार गरेँ एमालेबाट चुनाव लड्ने प्रस्ताव?

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको बताएका छन्। अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन्।

शनिबार काठमाडौँमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए। उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए।

उनले युवाहरुसँग घुलमिल हुने कार्यक्रम आफूले शनिबारबाट काठमाडौँ क्षेत्र नम्बर ४ बाट सुरु गरेको भन्दै यो कार्यक्रम देशभर नै आयोजना गर्ने आफ्नो योजना रहेको बताए। उनले नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको टिकटको आकांक्षी भएपनि टिकट नपाएपछि अबको ५ वर्ष मतदाता र युवामाझ आफ्नो सक्रियता बढाउन प्रयोग गर्ने बताए।

उनले भने, ‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाव नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छाैँ, धेरै कुराहरु सीमा, बन्धन, नियममा रहनुपर्छ। अहिले म यही फ्रेमवर्क भित्र नै सक्रिय हुन्छु। तत्कालमा जनमत बनाउने, युवाहरुसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौँ ४ बाट सुरु गरेर देशव्यापी रुपमा छलफल म लैजान्छु। निर्वाचनसम्म माहोल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु। टिकटको आकांक्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो। यो कुरा म आज भन्नसक्छु। काठमाडौँ ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ काँग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो। रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो। कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्शन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न। मेरो तीन पुस्ते काँग्रेस नै हो।’

अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए।

प्रकाशित: ५ कार्तिक २०७९ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App