मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा लमजुङबाट दोस्रो तहका प्रभावशाली नेताद्वय देवप्रसाद गुरुङ र पृथ्वी सुब्बा गुरुङले प्रतिस्पर्धा गर्दैछन्। देवप्रसाद नेकपा माओवादी केन्द्रका महासचिव र पृथ्वी सुब्बा एमालेका उपमहासचिव हुन्, उनीहरूबीच कडा र रोचक प्रतिस्पर्धा हुँदैछ।
यसअघि २०७४ को निर्वाचनमा गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित नेताद्वय गुरुङ नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठमा पार्टी एकीकरण भई नेकपा बनेपछि एउटै पार्टीमा गोलबद्ध भएका थिए। अघिल्लो निर्वाचनमा देवप्रसाद प्रतिनिधिसभा र पृथ्वी सुब्बा प्रदेशसभा ‘ख’बाट निर्वाचित भएका थिए। लमजुङमै जन्मिएका पृथ्वी सुब्बा र मनाङमा जन्मिए पनि कर्मथलो लमजुङ बनाएका देवप्रसाद एउटै समुदायका दुई हेभिवेटबीच यसपटक जिल्लाबाट केन्द्रमा कसले प्रतिनिधित्व गर्ने भन्ने प्रतिस्पर्धा हुँदैछ।
अघिल्लो निर्वाचनमा एमालेसँग मिलेर निर्वाचन जितेका देवप्रसादलाई यसपटक नेपाली कांग्रेस, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र राष्ट्रिय जनमोर्चालगायत दलले साथ दिँदैछन्। अघिल्लोपटक माओवादी केन्द्र र नेकपा एस बन्नुअघिका एमालेको मत प्राप्त गरेका पृथ्वी सुब्बा यसपटक विभाजित एमालेको मतका भरमा निर्वाचन लड्दैछन्।
राष्ट्रिय राजनीतिमा दुवै नेताको आ–आफ्नै प्रभाव र पहिचान छ। २०३६ सालदेखि राजनीतिमा सक्रिय सत्तारूढ नेकपा माओवादी केन्द्रमा महासचिव देवप्रसाद सिद्धान्तवादी नेताका रूपमा परिचित छन्। यसका अलावा उनी राष्ट्रियता र जनजीविकाका विषयमा पनि प्रस्ट विचार राख्ने नेताका रूपमा परिचित छन्। राजनीतिक सिद्धान्त र प्रक्रियामा सञ्चालन हुनुपर्छ भन्ने मान्यता राख्ने उनी २०६९ सालमा अध्यक्ष पुष्पकमल दाहालको कार्यशैलीप्रति असहमति जनाउँदै मोहन वैद्यसँगै पार्टीबाट बाहिरिएका थिए। माओवादीको मुख्य नेतृत्वसँग असहमति जनाउँदै बाहिरिएका उनले २०७० सालको संविधानसभा निर्वाचनसमेत बहिष्कार गरेका थिए। पछिल्लो समय अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गर्न नहुने भन्दै सदन र सडकबाट समेत चर्काे आवाज उठाउँदै आएका उनी केही समययता भने सो विषयमा मौन रहँदै आएका छन्।
विशेष गरी पार्टीमा उनले महŒवपूर्ण जिम्मेवारी पाइने संकेत मिलेसँगै गुरुङले सो विषयलाई बेवास्ता गर्न थालेका थिए। नभन्दै पार्टीले केही समयअघि महासचिवका प्रबल दाबेदार मानिएकाहरूलाई पन्छाउँदै उनलाई महासचिवको भूमिका दियो। पार्टी विचार, विधि र प्रक्रियाअनुसार सञ्चालन हुनुपर्ने बताउँदै आएका उनी पछिल्लो समय यस्ता विषयमा समेत मौन रहँदै आएका छन्। कतिपयले उनको पछिल्लो भूमिकालाई दोहोरो चरित्रका रूपमा समेत अथ्र्याउने गरेका छन्। पटकपटक सरकारमा मन्त्री तथा पार्टीको मुख्य सचेतकसमेत रहिसकेका उनले पार्टीमा विद्रोह गरेका र पुनः फर्किएपछि पनि पार्टीभित्रै रहेकाहरूले भन्दा महŒवपूर्ण जिम्मेवारी प्राप्त गर्न सफल भएका छन्। कानुनी विषयमा विशेष दक्खल राख्ने उनी राष्ट्रिय राजनीतिमा प्रतिद्वन्द्वी सुब्बाभन्दा प्रभावशाली मानिन्छन्।
२०३४ सालदेखि राजनीतिमा होमिएका पृथ्वी सुब्बा गुरुङ पनि प्रस्ट वक्ताका रूपमा परिचित अनुहार हो। उनी कुनै विषयमा धारणा राख्दा पार्टीभित्र वा बाहिर प्रस्ट रूपमा राख्ने गर्छन्। उनी आफ्नो अडानमा अडिग रहने नेताका रूपमा पनि चिनिन्छन्। जनजाति आन्दोलनका विषयमा एमाले दोधारमा हुँदा उनले त्यस विषयमा प्रस्ट धारणा राखेका थिए। कतिपयले उनलाई अशोक राईसँगै एमालेमा विद्रोह गर्न सक्ने अनुमानसमेत गरेका थिए। तर उनी पार्टीमै अडिग रहेर राजनीतिलाई निरन्तरता दिए। सुब्बाकै भनाइ सापटी लिने हो भने उनी आफ्नो जिल्लालाई केन्द्रित गरेर राजनीतिमा सक्रिय भए। जसले गर्दा उनको राष्ट्रिय राजनीतिमा भन्दा स्थानीय राजनीतिमा पहुँच र प्रभाव बढी देखिन्छ। उनले त्यसलाई अझ मुखरित गर्ने अवसर २०७४ सालमा गण्डकी प्रदेश (तत्कालीन प्रदेश ४) को मुख्यमन्त्री भइसकेपछि प्राप्त गरे। साधारण स्वभावका सुब्बामा मुख्यमन्त्री भएपछि भने केही अहमता पलाएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
निर्वाचनको मिति नजिकिँदै जाँदा दुवै नेता चुनावको प्रचारका क्रममा लमजुङमा घरदैलो गर्दै हिँडिरहेका छन्। चुनावकै बीचमा नागरिकको सम्पर्कमा आएका दुवै नेताले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै कारण पनि प्रस्ट्याए। ‘मैले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको छु। अहिले माहोल प्रतिगमनको पक्षमा छैन। अहिलेको माहोल र जनताको समर्थनको हिसाबले पनि हामी जितनजिक छौं,’ गठबन्धनका तर्फबाट लमजुङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देव गुरुङले भने। पश्चगमनविरुद्ध र प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रलगायत परिवर्तनको रक्षाका लागि पनि जनताले आफूलाई भोट दिने गुरुङ बताउँछन्। ‘अब जनताले अराजकता र निरंकुशतामा जाने कुरालाई स्वीकार गर्न सक्दैनन्,’ गुरुङले भने।
यता पृथ्वी सुब्बा गुरुङ भने अघिल्लो निर्वाचनमा देव गुरुङलाई प्रतिनिधिसभामा लैजानुपर्ने भएकाले आफू प्रदेशसभामा उठेर गुरुङलाई प्रतिनिधिसभामा जिताएको बताउँछन्। अघिल्लोपटक गुरुङको गृह जिल्ला मनाङबाट जित्ने अवस्था नभएपछि लमजुङबाट उठाएको तर्क गर्दै सुब्बाले भने, ‘यसपटक निहुँ खोज्दै लमजुङबाट उठ्ने निर्णय गरेर उहाँले गल्ती गर्नुभयो।’ आफूले २०३५ सालदेखि नै लमजुङलाई आधार बनाएर राजनीति गरेको र जित तथा हारमा पनि लमजुङ साक्षी रहेको बताउँदै सुब्बाले देव गुरुङ आगन्तुक उम्मेदवार भएकाले यस पटक आफ्नो जित सुनिश्चित भएको बताए।
‘आगन्तुक उम्मेदवार आएर केही हुँदैन। पहिले एमालेसँग गठबन्धन हुँदा पनि माओवादीले थोरै मतले मात्र जितेको हो। त्यसमाथि मलाई अन्य दलका स्थानीय नेता तथा कार्यकर्ताको पनि सहयोग हुन्छ,’ उनले भने। युद्धकालमा माओवादीले जिल्लामा कैयौं कांग्रेसका नेता तथा कार्यकर्ताको हत्या गरेकाले माओवादी उम्मेदवारलाई जिताउन कांग्रेसले भोट नहाल्ने उनको तर्क छ। आफूले गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा जिल्लाका गाउँपालिकामा पहिलोपटक पिच सडक निर्माण गरेको र जिल्लाको विकासका लागि महŒवपूर्ण योगदान गरेको भन्दै सुब्बाले देव गुरुङले संसद्का रूपमा लमजुङका लागि के योगदान गरे भनेर प्रश्न गरे। ‘जिल्लामा उहाँको के योगदान छ? संसद् विकास कोषको रकम कहाँ गयो? उहाँको पाँच वर्ष जिल्लामा केही नगरी बित्यो,’ उनले भने। सुब्बा गठबन्धनका उम्मेदवार गुरुङ आफ्नो प्रतिस्पर्धी नै नभएको बताउँछन्।
कहिले एउटै पार्टी त कहिले फरकफरक पार्टीबाट आफ्ना राजनीतिक गतिविधि गरिरहेका दुई समकालीन नेताबीच निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा हुन थालेको हो। उनीहरूलाई नजिकबाट चिन्नेहरू दुई नेताबीचको सम्बन्ध राम्रो पनि नरहेको र नराम्रो पनि नरहेको बताउँछन्। ‘हामीबीच घनिष्ठ सम्बन्ध पनि छैन, तिक्तता पनि छैन। औपचारिक सम्बन्ध मात्रै हो,’ दुई नेताबीचको सम्बन्धबारे पृथ्वी सुब्बाले भने।
देव गुरुङ बढी नै अन्तरमुखी स्वभावका छन्। उनी आवश्यकताभन्दा बढी कसैसँग बोल्दैनन्। उनले हरेक कुरालाई विचार र सिद्धान्तसँग जोडेर हेर्ने गर्छन्। मतदातामा घुलमिलका हिसाबले पनि देव गुरुङभन्दा पृथ्वी सुब्बा बढी घुलमिल हुन सक्छन्। त्यसमाथि अहिले निर्वाचन प्रतिस्पर्धा हुन लागेको जिल्लाका लागि देव गुरुङभन्दा पृथ्वी सुब्बा बढी भिजेका र परिचित पनि छन्। ‘जनतालाई विकास चाहिएको छ तर उहाँ सिद्धान्तका कुरा गर्नुहुन्छ,’ देव गुरुङको स्वभावबारे टिप्पणी गर्दै पृथ्वी सुब्बा भन्छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले माओवादी गठबन्धनका उम्मेदवार देव गुरुङले ३९ हजार ४ सय ६८ मत प्राप्त गरेर जित हासिल गरेका थिए। उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीले ३१ हजार ३४ मत प्राप्त गरे। गठबन्धन र कांग्रेस उम्मेदवारबीचको मतान्तर ८ हजार ४ सय ३४ थियो। गत स्थानीय निर्वाचनमा लमजुङमा रहेका आठ स्थानीय तहमध्ये चारवटामा एमाले र बाँकी
चारवटामा कांग्रेसले जित हासिल गरेको थियो। त्यस्तै ती स्थानीय तहका उपप्रमुखमध्ये पाँच स्थानमा एमाले, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा कांग्रेसले जित हासिल गरेको थियो।
को हुन् देवप्रसाद गुरुङ?
२०१५ असोज २२ गते मनाङमा जन्मिएका देवप्रसाद गुरुङ २०३६ सालदेखि राजनीतिमा सक्रिय छन्। २०३८ सालमा नेकपा (मसाल) को केन्द्रीय सदस्य बनेका उनी २०४० सालमा अखिल आठौंको केन्द्रीय अध्यक्ष, २०४७ को पार्टी एकतापछि नेकपा एकता केन्द्रको केन्द्रीय सदस्य हुँदै २०५१ मा नेकपा (माओवादी) को पोलिटब्युरो सदस्य बनेका थिए। २०६१ सालमा पार्टीको स्थायी समिति सदस्य बनेका उनी २०७५ सालमा माओवादी र एमालेबीच एकीकरण भएर नेकपा बनेपछि नेकपाको मुख्य सचेतक बने। उनी युद्धकालमा २०५१ देखि २०५५ सालसम्म जेल परेका थिए।
२०५६ देखि २०६२ सालसम्म भूमिगत बनेका उनी २०६३ को अन्तरिम व्यवस्थापिका सदस्य, २०६४ को पहिलो संविधानसभा सदस्य, २०६३ चैतदेखि २०६५ साउनसम्म स्थानीय विकासमन्त्री र २०६५ साउनदेखि २०६६ असोजसम्म कानुन तथा न्यायमन्त्री बनेका थिए।
२०६६–६८ सालसम्म एकीकृत नेकपा माओवादीको संसदीय दलको प्रमुख सचेतकसमेत रहेका गुरुङ पार्टी विभाजनपछि मोहन वैद्यतिर लागेका थिए। नेकपा विभाजनसँगै उनी पुनः माओवादी केन्द्रको प्रमुख सचेतकको जिम्मामा फर्किएका थिए। हाल उनी माओवादी केन्द्रको महासचिवको जिम्मेवारीमा छन्।
को हुन् पृथ्वी सुब्बा गुरुङ?
२०७४ फागुन ४ देखि २०७८ जेठ २८ सम्म गण्डकी प्रदेशको मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ हाल प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख हुन्। २०३४ सालदेखि राजनीतिमा होमिएका उनले सुरुमा राजनीति र शिक्षण पेसालाई सँगसँगै अघि बढाएका थिए। त्यसक्रममा उनी पञ्चायतकालमा पटकपटक पक्राउ परे। २०३७ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएका उनी २०४० सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। उनी २०५४ सालमा नेपालगन्जमा भएको छैटौं महाधिवेशनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य भएका थिए ।
उनले २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव भएर काम गरे। २०६० सालमा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका उनी २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। त्यसअघि उनी २०६२÷६३ को जनआन्दोलनपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर काम गरेका थिए। उनी २०१४ फागुन २ गते लमजुङमा जन्मिएका हुन्।
प्रकाशित: ५ कार्तिक २०७९ ००:४६ शनिबार