३० वैशाख २०८३ बुधबार
image/svg+xml
विचार

इरान युद्धको रणनीतिक असर

अमेरिका–इजरायल र इरानबिचको युद्धले केवल पश्चिम एसियालाई अस्थिर बनाएको र ऊर्जा तथा अन्य वस्तुको मूल्य वृद्धि गराएको छैन, यसले विश्व अर्थतन्त्रलाई अव्यवस्थित बनाएको छ । यसले अमेरिकाका मित्रराष्ट्र र प्रतिद्वन्द्वी दुवैलाई एक अप्रत्याशित र अविश्वसनीय महाशक्तिसँग कसरी व्यवहार गर्ने भन्नेमा अन्योल सिर्जना गरेको छ । यसको परिणामस्वरूप अबको दशकमा विश्व शक्ति–सन्तुलन बदल्ने ऐतिहासिक भूराजनीतिक पुनर्संरचना सुरु भएको छ।

तत्कालीन  र गहिरो हिसाबमा युद्धको सबैभन्दा बढी प्रभाव युद्ध भइरहेको क्षेत्रमा छ । यसले धेरै खाडी अरब राष्ट्रहरूलाई लामो समयदेखि आन्तरिक विवादले ग्रस्त रहेको ‘गल्फ कोपरेसन काउन्सिल’को उपादेयता उपयुक्त नरहेको निष्कर्षमा पुग्न सहयोग गरेको छ।

यस युद्धले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) बिचको प्रतिस्पर्धालाई पनि तीव्र बनाएको छ । हालै युएईले झन्डै ६ दशक पुरानो ओपेक सदस्यता अन्त्य गर्ने मनसाय सार्वजनिक गरेको थियो । अब युएईले इरानी शासनलाई कमजोर पार्ने उद्देश्यसहित इजरायलसँग गुप्तचर, प्रविधि र सुरक्षामा अझ नजिकको सहकार्य गर्ने छ । यसविपरीत, साउदी अरबले आणविक शक्ति सम्पन्न पाकिस्तानका साथै इजिप्ट र टर्कीसँग सैन्य सहकार्य मजबुत बनाउँदै चीनसँग अझ निकट समन्वय गरेर इस्लामिक गणतन्त्र इरानसँग सहअस्तित्वको बाटो खोज्ने प्रयास गर्ने छ।

प्रस्ट छ, यी दुवै ध्रुवले अमेरिकासँगको आफ्नो निकट सुरक्षा सम्बन्ध कायम राख्न चाहने छन् तर त्यो पहिलेजस्तो सहज अब रहने छैन । युद्धको सबैभन्दा तत्काल र उल्लेखनीय प्रभावमध्ये एक भनेकै पश्चिम एसियामा समन्वित निर्णय प्रक्रियाको आधार कमजोर बन्नु हो।

त्यसपछि कमजोर बन्दै गएको ट्रान्स–अटलान्टिक सम्बन्ध आउँछ। रुसको युक्रेनविरुद्धको युद्धले युरोपभर चिन्ता बढाइरहेका बेला ट्रम्प प्रशासनले इरानमा ध्यान केन्द्रित गर्नु र त्यसपछि सहयोग नगरेको भन्दै युरोपेली नेताहरूलाई आलोचना गर्नुले नेटोबाहिर युरोपेली सामूहिक सुरक्षा व्यवस्थाको अवधारणालाई नयाँ गति दिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स–अटलान्टिक गठबन्धनबाट अमेरिकालाई बाहिर निकाल्ने प्रयास नगर्न पनि सक्छन् र अमेरिकी सिनेटले कानुनी रूपमा त्यस्तो कदम रोक्न सक्छ  तर मे १ मा उनले जर्मनीमा तैनाथ ३६ हजार अमेरिकी सैनिकमध्ये पाँच हजार फिर्ता बोलाउने घोषणा गरेका छन् । जर्मन चान्सलर फ्रेडरिच मर्जले युद्धको आलोचना गरेको केही दिनपछि यो घोषणा आएको थियो । यसले युरोपभर थप चिन्ता फैलाएको छ । ट्रम्पले रुसमाथिका केही प्रतिबन्ध स्थगन गर्ने विषयमा युरोपेली आपत्तिलाई पनि बेवास्ता गरेका छन्।

यसको परिणाम पश्चिमा गठबन्धनभित्र अझ गहिरो विभाजन र ह्वाइट हाउसले भविष्यमा अमेरिका–रुस सुरक्षा समझदारीतर्फ धकेल्न सक्ने डरका रूपमा देखिएको छ । त्यस्तो सम्भावनाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध जारी राख्न थप कारण दिएको छ। नाटो कमजोर हुँदै जाँदा रुसले अन्ततः सफलता हासिल गर्न सक्छ भन्ने आशा रुसले राखेको छ।

एसियाभर भने हर्मुज जलमार्गलगायत अन्य रणनीतिक नाकाको प्रभावकारी अवरोधले ठुलो आर्थिक क्षति पुर्‍याइरहेको छ । युरोपमा अमेरिकाका परम्परागत साझेदारहरूझैं एसियाली मित्रराष्ट्रहरू पनि ट्रम्प प्रशासनको दीर्घकालीन सुरक्षा र आर्थिक प्रतिबद्धताबारे असुरक्षित महसुस गरिरहेका छन् तर जापान, दक्षिण कोरिया र ताइवानसँग जर्मनी, फ्रान्स र बेलायतजस्ता विकल्पहरू छैनन् । उनीहरूलाई वासिङ्टनसँग बाँध्ने कुनै ‘एसियाली नाटो’ छैन, न त उनीहरूलाई आपसमा बाँध्ने युरोपेली संघजस्तो संस्था नै छ।

त्यसमाथि उनीहरूले चीनको आर्थिक, प्राविधिक र बढ्दो सैन्य शक्तिबाट सिर्जित दबाब पनि सामना गरिरहेका छन् । चीन अहिले ताइवानको सत्तारूढ दल र जापान सरकारप्रति अझ आक्रामक रूपमा प्रस्तुत भइरहेको छ । यी र अन्य कारणहरूले अमेरिकाका एसियाली मित्रराष्ट्रहरूले युरोपेली राष्ट्रहरूझैं अमेरिकाबाट बढी स्वतन्त्र बन्ने सम्भावनालाई सीमित बनाएका छन्।

स्वयं चीनतर्फ हेर्दा राष्ट्रपति सी चिनफिङले आफ्नै अर्थतन्त्र सुस्ताइरहेको र ट्रम्प तथा पुटिनको दुस्साहसले उनीहरू र सहयोगी देशलाई खास फाइदा नपुर्‍याएको बुझेका छन्  । यसरी अमेरिकाको ध्यान विचलित भएको अवसरमा नयाँ जोखिम उठाउनबाट ऊ जोगिएको छ। बरु, यसै साताको  बेइजिङ भ्रमणको क्रममा ट्रम्पलाई विशेष सम्मान दिँदै ताइवान स्वतन्त्रताको दाबीलाई अमेरिकाले स्पष्ट रूपमा अस्वीकार गरोस् भन्ने चाहना उनले राख्ने सम्भावना छ । बदलामा चीनले अमेरिकी वस्तु खरिदमा ठुलो प्रतिबद्धता जनाउन सक्छ । ट्रम्पका निकट सहयोगीहरूसमेत उनले यस्तो प्रलोभन अस्वीकार गर्छन् कि गर्दैनन् भन्नेमा निश्चित छैनन् । निस्सन्देह, एसिया तथा अन्यत्र रहेका अमेरिकी मित्रराष्ट्रहरूले यसलाई नजिकबाट हेरिरहेका हुनेछन्।

इरान युद्धले चीनसँग सम्बद्ध रहेको अर्को महत्त्वपूर्ण परिवर्तनलाई पनि तीव्र बनाएको छ । यसले इरानी नेतृत्व र विश्वलाई रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण सामुन्द्रिक नाका र हर्मुज बन्द गर्नु कति सजिलो र सस्तो हुन सक्छ भन्ने देखाएको छ । यमनलाई अफ्रिकाबाट छुट्याउने बबाल मन्डपजस्ता अन्य समुद्री मार्ग र दक्षिणपूर्वी एसियाको मलक्का स्ट्रेटसमेत जोखिममा पर्न सक्ने देखिएको छ ।

यति मात्र होइन, यी घटनाक्रम त्यस्तो समयमा भइरहेका छन्, जतिबेला चीन दिगो ऊर्जा, विद्युतीय सवारी, ब्याट्री तथा तिनलाई समर्थन गर्ने महत्त्वपूर्ण खनिज र पुनःप्रशोधन क्षेत्रमा निर्विवाद विश्वनेता बनिसकेको छ।

चीनको जीवाश्म इन्धनपछि स्वच्छ ऊर्जा उत्पादनतर्फको ऐतिहासिक परिवर्तनले उसलाई विश्वका प्रमुख ऊर्जा आयातकर्ताहरूका लागि अझ आकर्षक व्यापारिक साझेदार बनाएको छ । सबैलाई थप ऊर्जा चाहिएको छ र यसले अल्पकालीन रूपमा विश्वकै सबैभन्दा ठुलो हाइड्रोकार्बन उत्पादक अमेरिकालाई (र डलरलाई) लाभ दिन सक्छ तर युद्धले उजागर गरेका कमजोरीहरूले दीर्घकालीन रूपमा चीनका लागि विशाल अवसरहरू सिर्जना गरिरहेका छन्।

यी सबै कारणले शीतयुद्धको अन्त्यपछि हाल जारी रहेको पश्चिम एसिया युद्धले विद्यमान अन्तर्राष्ट्रिय साझेदारी र विश्व शक्ति–सन्तुलनलाई परिवर्तन गर्ने देखिएको छ।

– ब्रेमर युरेसिया ग्रुपका सस्थापक अध्यक्ष हुन्। (प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: ३० वैशाख २०८३ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %