१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

यस कारण गरे सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्।  

सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन र त्यसपछि एक बक्तब्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन्। मंसिर ४ मा हुने निर्वाचनका लागी उनी माओवादीबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवार सिफारिस भएका थिए।

यो चुनावमा भाग नलिए पनि आगामी दिनमा राजनीतिक अभियानमा रहिरहने सभामुख सापकोटाले बताएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। बामगठबन्धनका उम्मेदवार सापकोटाले त्यतिबेला कांग्रेसका मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए।

माओवादी शान्ति प्रक्रियामा आएपछि सापकोटाले दुईवटा संविधानसभा र एक प्रतिनिधिसभा निर्वाचनमा भाग लिए। उनले तीनवटै चुनाव लगातार जितेर ह्याट्रिक गरेका थिए। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनी साविक सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट विजयी भएका थिए।

२०६८ मा सूचना तथा सञ्चार र २०७२ मा वन तथा भूसंरक्षणमन्त्री बनेका सापकोटा २०७६ माघ २२ गते प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। उनले आफूले भाग लिएका तीन वटै चुनावमा मत दिएर जिताउने सिन्धुपाल्चोकका मतदातालाई धन्यवादसमेत दिएका छन्।  

राजनीति उत्तराधिकारी जन्माउने चाहना, खस्कँदो क्रेज र कांग्रेससँगको अविश्वास  

सभामुख सापकोटाले अघिल्लो २०७४ को प्रतिनिधिसभा निर्वाचन नै आफ्नो लागि अन्तिम भएको बताएका थिए। तर यो पटक पनि सिफारिसमा परेपछि उनी पुनः चुनाव लड्ने आँकलन भइरहेको थियो।

माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल दाहिना हुँदाहुँदै उनले निर्वाचनमा भाग नलिने घोषणा गरेका छन्। उनले अघिल्लो पटक जितेको क्षेत्र नं. १ योपल्ट पनि सत्ता गठबन्धनबाट माओवादीकै भागमा परेको छ। यो निर्वाचन क्षेत्र माओवादीकै भागमा पर्नुका साथै अध्यक्ष दाहालको विश्वासपात्र भएकाले उनलाई पुनः टिकट लिन कुनै समस्या थिएन। न त पुनः निर्वाचित हुन नै कठिन थियो। गठबन्धनले गत स्थानीय तह निर्वाचनमा ल्याएको मत हिसाव गर्दा सापकोटालाई फेरि विजयी हाँसिल गर्न समस्या थिएन।  

आगामी प्रतितिधिसभा निर्वाचनमा भाग नलिएर सभामुख सापकोटाले आफ्नो राजनीतिक उत्तराधिकारीको रुपमा भतिज माधव सापकोटालाई अघि बढाउन खोजेको संकेत गरेका छन्।  

सभामुख सापकोटाले चुनावमा भाग नलिने घोषणा गरेपछि गठबन्धनबाट माओवादीका माधवले क्षेत्र नं. १ को टिकट पाएका थिए। माधव यसै निर्वाचन क्षेत्रबाट सभामुख सापकोटासँगै उम्मेदवार सिफारिस भएका थिए। पत्रकार सम्मेलनमा समेत सभामुख सापकोटाले युवाको लागि ठाउँ खाली गरेको बताए।

माओवादी पोलिट्यूरो सदस्य माधव जिल्ला पार्टी इन्जार्चसमेत हुन्। पूर्वजनमूक्ति सेनाका कमाण्डर माधव माओवादी सिन्धुपाल्चोकको राजनीतिमा ‘कुशल कमाण्डर’ मानिन्छन्। माधवकै कमाण्डमा सभामुख सापकोटाले २०७० दोस्रो संविधान सभा निर्वाचनमा कठिन जित निकालेका थिए। जतिबेला पार्टी अध्यक्ष दाहाल काठमाडौँबाट पराजित भएका थिए। भतिज माधवकै ‘लडाकु शैलीको कमाण्डिङ’ मा सापकोटा उक्त चुनाव जित्न सफल भएको विपक्षी नेताहरुले नै ठान्दै आएका छन्।  

केही समययतादेखि सापकोटा आफू आशन्न चुनाव नलड्ने भन्दै तयारी गर्न भजित सापकोटालाई आग्रह गर्दै आएका थिए। लगातार तीन पटक चुनाव जितेर पनि जिल्लामा पर्याप्त काम गर्न नसकेको भन्दै उनी आलोचित भने हुँदै आएका थिए। ढिलो चाँडो राजनीतिक उत्तराधिकारी जन्माउनै पर्ने बाध्यता र आफ्नो खस्कँदो क्रेजका कारण उनी चुनावी मैदानबाट पछाडि हटेको जानकार बताउँछन्।  

निर्वाचन क्षेत्र र टिकट सुरक्षित हुँदा हुँदै सभामुख सापकोटाले मैदान खाली गर्नुको अर्को कारण हो, सत्ता साझेदार कांग्रेससँगको अविश्वास। स्थानीय तह चुनावमा आधारमा यो क्षेत्रमा कांग्रेसको पकड छ। कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सुरुदेखि नै क्षेत्र नं. १ बाट टिकट लिन चर्को दवाव बढाएका थिए। उनी यसअघिको चुनाव यहीँबाट लड्दै आएका थिए। उनलाई जवरजस्त क्षेत्र नं. २ मा पठाइएको छ। यस्तोमा असन्तुष्ट कांग्रेस कार्यकर्ताले भोट नदिने तीव्र डर र आशंकामा सापकोटा थिए।

प्रकाशित: २२ आश्विन २०७९ १४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App