६ वैशाख २०८१ बिहीबार
राजनीति

लाल हत्या: ‘आइएसआईसँगको कनेक्सन’

सन्दिग्ध दुईजना पक्राउ, छानबिन समिति गठन

काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा सन्दिग्ध व्यक्ति लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले मंगलबार दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार उनीहरूलाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याउन लागिएको छ। ‘दुई जना पक्राउ परेको सत्य हो, उनीहरूमाथि अनुसन्धान सुरु हुन बाँकी छ’, स्रोतले भन्यो। स्रोतका अनुसार घटनापछि प्रहरीले सीमानाकामा पनि निगरानी राखेको थियो।

फिल्मी शैलीमा सोमबार साँझ गोली हानी मोहम्मदको हत्या गरिएको थियो। प्रहरीले अहिलेसम्म मोहम्मदको हत्या किन र कसरी भयो भनेर औपचारिक रूपमा केही खुलाएको छैन। ‘प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिल्यै केही बताउने अवस्था छैन। छानबिन समिति गठन भएको छ’, प्रहरी प्रधान कार्यालयका सहायक प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने। काठमाडौंमा गार्मेन्ट व्यवसाय गर्दै आएका सर्लाहीका मोहम्मदलाई टाउको, पेट र कम्मरमा चारवटा गोली हानिएको थियो।

मोटरसाइकलमा आएका दुईजना अपरिचित गोली हानी फरार भएको भिडियोमा स्पष्ट देखिन्छ। मोहम्मदको टाउको, पेट र कम्मरमा गरी चारवटा गोली लागेको पोस्टमार्टम रिपोर्ट आएको छ। रातो टिसर्ट लगाएका हतियारधारी घटनाअघि नजिकैको कोसीपारि गेस्टहाउसमा बसेको र त्यहाँ एउटा झोला छाडेर गएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार सो झोला कुरेर प्रहरी बसेको छ। ‘एउटा झोला फेला परेको र होटेलमा बसेका तीनजनामध्ये दुईजना भने आउजाउ गरिरहेको देखिएको छ। घटनास्थलको क्लोज सिसिटिभी फुटेज संकलन गरिएको छ’, प्रहरी स्रोतले भन्यो।

गोली प्रहार गर्ने व्यक्ति आफू सुरक्षित हुनेमा भन्दा पनि मोहम्मदलाई कसरी ढाल्ने भन्नेमै केन्द्रित भएको भिडियोमा देखिन्छ। प्रहरीका अनुसार सुटरभन्दा मोहम्मद कुशल देखिए पनि अन्ततः जोगिन सकेनन्। पहिलो गोली लागेपछि उनी जोगिन गाडीको वरिपरि घुमे पनि सुटरले मारिछाडे। घाइते उनको अस्पतालमा मृत्यु भएको थियो। उनलाई सुरुमा शंखरापुर अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। शिक्षण अस्पतालमा पुर्‍याएको केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बा ६ च ५१५२ नम्बरको मोटरमा रहेका मोहम्मदलाई जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्रीअगाडि ओर्लन लागेका बेलामा गोली हानिएको थियो। घटनाको अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। प्रहरीको विशेष ब्युरोले पनि घटनाको अनुसन्धान गरिरहेको छ। मोहम्मदका परिवारका सदस्य अहिले शोकमा रहेका कारण प्रहरीले उनीहरूबाट सूचना संकलन गर्न सकेको छैन।

तीन चरणमा अनुसन्धान

प्रहरीले मोहम्मद हत्यालाई तीन चरणमा बाँडेर अनुसन्धान गरिरहेको छ। पुरानो रिसइबी, नक्कली नोटसँगै युरेनियम कारोबारमा संलग्न भएको आशंका र पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको हुन सक्ने भन्दै भारतीय आपराधिक ग्याङले हत्या गरेको हुन सक्छ भनेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। ‘भारतविरुद्ध गतिविधि तीव्र बनाएको भन्ने सूचनाका आधारमा पनि गोली हानिएको हुन सक्नेतर्फ पनि हाम्रो अनुसन्धान केन्द्रित छ। यो घटनालाई मोहम्मदका पुराना घटनासँग पनि हामीले जोड्ने प्रयास गरेका छौं। त्यो भनेको ग्याङमा विश्वासघात हुँदा एकले अर्कालाई मार्ने हो। अहिल्यै यही कारण हो भन्न सक्ने अवस्था छैन’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

स्रोतका अनुसार गत साउनमा भारतबाट आएको सुरक्षा टोलीलाई युरेनियमको नमुना पनि मोहम्मदले पठाएका हुन् कि भन्ने आशंका पनि गरिएको छ। ‘उनको धन्दा एउटा मात्र होइन; विगतमा उनले धेरै प्रकारका व्यवसाय गरेको देखिन्छ। उनले काठमाडौंका विभिन्न स्थानमा फरक-फरक कारोबार गर्दै आएका थिए’, एक सुरक्षा अधिकारी भने।

मोहम्मदका विषयमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले पनि सूचना संकलन गरेको थियो। नेपालमा आतंककारी रहेको भन्ने सूचना संकलन गर्दा सशस्त्रको इन्टेलिजेन्स ब्युरोले उनलाई कडा आतंककारी सूचीमा राखेर आफ्नो विभागलाई जानकारी गराएको थियो।

राष्ट्रपतिबाट आममाफी

प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा वाहिद खान, लाल मोहम्मद लगायतको समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार पनि गथ्र्यो। उनीहरू अदालतबाट दोषी ठहर भई जेल चलान भए। मोहम्मद करिब नौ वर्ष जेल बसेर २०७४ मा सरकारी आममाफीमा छुटेका थिए। जेलबाट निस्किएपछि मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरे। एभेन्जर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाइरहेका थिए उनले।

सुरुमा कन्ट्रयाक्ट किलर

प्रहरी स्रोतले दिएको जानकारीअनुसार मोहम्मद सुरुमा कन्ट्रयाक्ट किलर थिए। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस (रअ) विशेष ब्युरोको एक रिपोर्ट अनुसार मोहम्मद नेपालमा नक्कली भारतीय नोट कारोबारमा बिचौलियाको भूमिका निर्वाह गर्थे। उनी हत्या र हत्या योजनामा पनि संलग्न हुन्थे। कतिपय घटनामा उनी आफैं गोली चलाउँथे। ‘नेपालबाहिर गएर पनि मोहम्मद सुपारी लिई सुटरको भूमिका निर्वाह गर्थे’, स्रोतले भन्यो।

आइएसआईसँगको सम्बन्ध

भारतीय गुप्तचर संस्था रअले मोहम्मदलाई लामो समयदेखि खोजी गरिरहेको थियो। ‘अन्तर्राष्ट्रिय आतंकवादी दाउद इब्राहिमसँग जोडिएर भारतविरोधी गतिविधिमा संलग्न रहेको, भारतीय नक्कली नोटको कारोबार गरेको, पाकिस्तानको इन्टर-सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) सँग सम्बन्ध रहेको भन्दै भारतीय सुरक्षा अधिकारीले उनको खोजी गरिरहेको थियो’, नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत एक अधिकारीले भने। ‘भारतीय जासुसी संस्थाका अधिकारीले मोहम्मदलाई गोली प्रहार गरे भन्ने कुनै आधार छैन तर शंका गर्ने ठाउँ पनि छ’, विशेष ब्युरोका ती अधिकारी भन्छन्। 

प्रकाशित: ५ आश्विन २०७९ ००:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App