१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताएका छन्।

संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमबार आयोजित विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले तीन वटै तहको सरकारले जनताको समृद्धिको लागि काम गर्नुपर्ने बताए।

उनले बलिदानीपूर्ण संघर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताए। वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको बताए।

उनले जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए। आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको पनि बताए।

उनले भने, ‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ। हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ। जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ। अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको छ।’

उनले संविधानले कल्पना गरेका विषय संविधान निर्माण पछिको समयमा कति कार्यान्वयन भए भन्नेकुराको समीक्षा गरेर अघि बढ्न जरुरी भएको बताए।

प्रकाशित: ३ आश्विन २०७९ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App