२६ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

अब विकासमुखी राजनीति : भट्टराई

भगवानपुर (सिरहा)- नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पहिचानमुखी राजनीतिले मात्र समुदायको विकास सम्भव नभएको बताएका छन्। सामाजिक सम्पन्नताका लागि पहिचानमुखी मात्र होइन, विकासमुखी राजनीति आवश्यक रहेको उनको तर्क छ।'मधेस जागरण यात्रा' क्रममा शनिबार सिरहा, भगवानपुरमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले भने, 'सीमामा बसेर जनतालाई होइन, सिंहदरबारलाई नाकाबन्दी गरौं।' ६ महिनासम्म सीमामा बसेर मधेसी जनतालाई नाकाबन्दी गर्दा काठमाडौंका शासकले नटेरेकाले अब सिंहदरबारमै नाकाबन्दी गर्नुपर्ने उनले बताए।

'नेपालको सभ्यता विकास गर्ने गोपालवंशी हुन्,' उनले भने, 'सभ्यता निर्मातालाई भारतीय र बिहारी भनेर हेप्नु दुर्भाग्यपूर्ण हो।' नेपालको संविधान ०७२ जारी हुनु देशवासीका लागि महŒवपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले भने, 'यो संविधानले देशको आधा हिस्सालाई अधिकारबाट वञ्चित गराउनु दुःखद् हो।'

७५ वर्षदेखिको लोकतान्त्रिक संघर्षमा मधेसको महत्वपूर्ण भूमिका हुँदाहुँदै अहिलेको संविधानले मधेस, पहाड र हिमालको आधा हिस्सालाई अधिकारबाट टाढा राख्नु अन्याय भएको उनले बताए। 'मधेसको अधिकार सुनिश्चित नभएसम्म यो संविधान पूर्ण हुन सक्दैन,' उनको तर्क थियो।

मधेसी दल मधेसमा मात्रै सीमित भएर मधेसीलाई पनि मधेसमै सीमित बनाएको उनले आरोप लगाए। 'मधेसीलाई मधेसमा मात्र नभई काठमाडौंमा प्रतिनिधित्वको वातावरण बनाउनुपर्छ,' उनले भने, 'पहिचान मात्रले समाज समृद्ध बन्न सक्दैन, मधेसको अन्न भण्डार बन्जर छ, युवा सबै बिदेसिएका छन्।' मधेसले अब पहिचानसँगै विकासलाई पनि संघर्षको एजेन्डा बनाउनुपर्ने उनले बताए।

प्रदेश नम्बर २ को हुलाकी राजमार्ग क्षेत्रलाई केन्› बनाई थालेको मधेस जागरण यात्राको दोस्रो दिन शनिबार सप्तरीको पश्चिमी–दक्षिणी गाविस बोदेबसाइनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले नयाँ शक्ति निर्माणमा जुट्न मधेसी दललाई आह्वान गरे।

'अब अधिकारका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ, सम्पूर्ण देशलाई एकताबद्ध गरी समानुपातिक समावेशी प्रतिनिधित्व लागू गरेर देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्छ,' उनले भने, 'पुराना राजनीतिक दल अब अक्षम भइसके, कांग्रेस धेरै पुरानो भइसक्यो, एमाले र एमाओवादी पनि मधेसविरोधी भए।'

देश संघीयतामा गइसकेकाले केही नमिलेको विषय मिलाउन आवश्यक भएको उल्लेख गर्दैै उनले भने, 'प्रमुख समस्याको रूपमा रहेको सीमांकन केही व्यक्तिको बेइमानीले कार्यान्वयन सकेन।'

तराई मधेसको मात्र नभइ मुलुककै नेतृत्व मधेसीले गर्नुपर्ने पनि उनले बताए। ६ महिनासम्मको आन्दोलन उपलब्धिबिना तुहिनु दुखद् भएको भन्दै उनले सान्त्वनासमेत दिए।

'नेपाल भनेको मधेसी–थारु, आदिवासी–जनजाति र खस–आर्यको क्लस्टर हो, यो तीनवटा मुख्य क्लस्टरले बनेको एउटा मुलुक नेपाल हो,' उनले भने। चार हजार बढी वर्षको नेपाली इतिहासमा सबभन्दा पहिले तराई मधेसकै जनता बढी भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

सप्तरीबाट सुरु मधेस जागरण यात्रा कपिलवस्तु पुगेर सम्पन्न हुने भट्टराईले बताए। अभियान सम्पन्न भएपछि जेठ ३०, ३१ र ३२ गते काठमाडौंमा बृहत कार्यक्रम गर्ने नयाँ शक्तिले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७३ २०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App