राहदानी विभागमा रहेको ‘राहदानी संग्रहालय’ मा ८८ वर्षअघि तत्कालीन राहदानी विभागका महानिर्देशक केशरशमशेरले हस्ताक्षर रहेको राहदानी हस्तान्तरण गरिएको छ।
कृष्ण उपाध्याय (रिमाल) का नाममा १९९० साल चैत २० गते (सन् १९३४ अप्रिल २) जारी गरिएको उक्त राहदानी उनका छोराद्वय ८७ वर्षीय ध्रुवप्रसाद रिमाल र ७६ वर्षीय बालप्रसाद रिमालले मंगलबार राहदानी विभाग पुगेर महानिर्देशक सुरेन्द्रकुमार यादवलाई हस्तान्तरण गरेका हुन्।
उक्त राहदानी हाल राहदानी संग्रहालयमा संग्रहित सबैभन्दा पुरानो भएको विभागका महानिर्देशक यादवले जानकारी दिए। सन् २०१९ मा स्थापना भएको संग्रहालयमा नेपाल तथा अन्य विभिन्न मलुकबाट जारी भएका पुराना राहदानी सम्भव भएसम्म संकलन गरी राखिएको छ।
उपाध्यायका नाममा दसौं कूटनीतिक राहदानी जारी भएको थियो। उनले सन् १९३४ मा बेलायतमा राजदूतावास सञ्चालनका लागि नेपालबाट लन्डन जाने पहिलो टोलीको सदस्यका रूपमा उक्त राहदानी लिएको पूर्वपरराष्ट्र सचिव मदन भट्टराई बताउँछन्। उक्त भ्रमण दललाई ‘वोजस्वी राजन्न मिसन’ नाम दिइएको थियो। उपाध्याय बेलायतका लागि तत्कालीन नेपाली राजदूत बहादुरशमशेरसँगै भ्रमण दलको सदस्यका रूपमा त्यहाँ गएका थिए। बहादुरशमशेर बेलायत जानुभन्दा पहिले परराष्ट्र मामिला प्रमुख थिए।
उक्त राहदानीमा बेलायत, फ्रान्स र इजिप्टका लागि अनुमति दिइएको उल्लेख छ। उक्त राहदानी पूर्वपरराष्ट्र सचिव भट्टराईकै पहलमा उपाध्यायका छोराहरूले विभागलाई हस्तान्तरण गरेका हुन्। नेपालमा राहदानीको इतिहासबारे भावी पुस्तालाई पनि जानकारी होस् भनेर बाबुको उक्त राहदानी विभागको संग्रहालयमा राख्न हस्तान्तरण गरेको छोरा बालप्रसादले बताए। रिमालद्वयले उक्त राहदानीसँगै २००५ साल फागुन १९ गते (सन् १९४९ मार्च २) उपाध्यायकै नाममा विजयशमशेरले हस्ताक्षर गरेको अर्काे राहदानी पनि संग्रहालयलाई हस्तान्तरण गरेका छन्।
पूर्वपरराष्ट्र सचिव भट्टराई प्रथम विश्वयुद्धभन्दा पहिले राहदानीको बाध्यात्मक प्रचलन नरहेको र तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा एक सय ७२ वर्षपहिले सन् १८५० मा बेलायत भ्रमणमा जाँदा राहदानीबिनै गएको बताउँछन्। एक सय १४ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर पनि राहदानीबिनै बेलायत भ्रमण गएका थिए।
पहिलो विश्वयुद्धभन्दा पहिले पनि कतिपय मुलुकमा ओहोदाअनुसार सुन, चाँदी र तामाको राहदानी जारी गर्ने प्रचलन रहेको भट्टराई बताउँछन्। सन् १९२० मा ‘लिग अफ नेसन’ को स्थापनासँगै विश्वव्यापी रूपमै राहदानीको प्रचलन सुरु भएको थियो।
नेपालले पनि सन् १९३४ देखि नियमित रूपमा राहदानी छाप्न सुरु गरेको हो। दोस्रो विश्वयुद्धपछि भने राहदानीको प्रचलन अनिवार्य भयो। भट्टराई बेलायतका लागि नेपालका चौथो राजदूतले मात्र कूटनीतिक राहदानी लिएको बताउँछन्। त्यतिबेला राजदूत शंकरशमशेरका नाममा २ नम्बरको कूटनीतिक राहदानी जारी भएको उनी बताउँछन्। पहिलो कूटनीतिक राहदानी केशरशमशेरले लिएको अनुमान भट्टराईको छ। त्यसअघिका नेपाली राजदूतले भने, ‘अडिनरी पासपोर्ट’ लिएर बेलायत जाने गरेको भट्टराई बताउँछन् ।
प्रकाशित: २९ भाद्र २०७९ ०२:०९ बुधबार