५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभापछि मात्र प्रदेशमा प्रवेश गर्ने

कार्यदलमा अझै जुटेन सहमति

फाइल तस्बिर

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलले गठन गरेको कार्यदलमा संख्यामा सहमति जुट्न सकेन। भदौ पहिलो साता नै सिट बाँडफाँटको टुंगो लगाएर आआफ्नो उम्मेदवार छनोटमा लाग्ने बताएका पाँच दल आइतबार साँझसम्म सिट संख्याका विषयको प्रस्ताव तयार गर्न पनि असफल भएका छन्। कार्यदलमा सिट संख्याका विषयमा सहमति जुट्ने सम्भावना कम भएपछि आइतबार बसेको कार्यदलको बैठकले प्रतिनिधिसभाको सिट संख्या टुंगो लगाउन शीर्ष नेताहरूलाई आग्रह गर्ने समझदारी गरेका छन्।  

प्रतिनिधिसभाको सिट संख्यामा सहमति जुटेपछि प्रदेशसभाको संख्यामा सहमति जुटाउन सहज हुने बताउँदै कार्यदल सदस्य एवं जनता समाजवादी पार्टी (जसपा) का नेता रामशाहाय यादवले जानकारी दिए। ‘कार्यदलमा अहिलेसम्म उठेका विषय शीर्ष नेतालाई जानकारी गराउनेछौं,’ नेता यादवले भने, ‘पहिला प्रतिनिधिसभाको सिट संख्या टुंगो लाग्यो भने प्रदेशको संख्यामा सहमति जुटाउन सहज हुन्छ। हामी शीर्ष नेतालाई त्यही आग्रह गर्नेछौं।’

प्रतिनिधिसभातर्फ गठबन्धनका दलहरूले आआफ्नो दाबी पेस गरे पनि प्रदेशसभाका विषयमा कुनै भने संख्याको विषयले प्रवेश नपाएको उनले जानकारी दिए। निर्वाचन मिति नजिकिएकाले सिट संख्याको विषयलाई धेरै लब्याउन नहुनेमा कार्यदलका सदस्यहरू सहमत रहेको उनले बताए। ‘शीर्ष नेताहरूसँग बसेपछि हामी फेरि बस्नेछौं,’ उनले भने।

यसअघि बिहीबार बसेको कार्यदलको बैठकमा कांग्रेसले १ सय, माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट दाबी गरेका थिए। कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वमा रहेको ११ जनाको कार्यदलले २०७४ सालको प्रतिनिधिसभा र वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार बनाएर सिटको टुंगो लगाउने समझदारी गरेका थिए। तर दलहरूले संख्यामा आआफ्नो अडान कायम राख्दा शीर्ष नेताहरूले कार्यदललाई प्रदेशको सिट संख्याको गृहकार्य गर्न आग्रह गरेको थियो।  

प्रकाशित: १३ भाद्र २०७९ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App