१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले केन्द्रीय कमिटी बैठकः भावी प्रधानमन्त्रीमा ओलीलाई अघि सार्ने निर्णय

नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गतेभित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएसँगै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ।

शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिने निर्णय गरेको हो। सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

उनका अनुसार एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ। एमालेले उम्मेदवार छनौटको मापदण्ड पनि तय गरेको छ। पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउन सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए।

एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ। एमालेले निर्वाचन परिचालनमा युवाहरुलाई समेटने गरी १५ देखि २५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ। अनेरास्ववियू, राष्ट्रिय युवा संघ, नेपाल, खेलकुद महासंघका आवद्ध युवाहरुलाई समेटेर निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको एमालेले जनाएको छ।

बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय पनि गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए। गुरुङका अनुसार बैठकले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष ओलीलाई दिने निर्णय पनि गरेको छ।

बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन छानविन समितिले आफ्नो कामबारे बैठकलाई जानकारी गराएको थियो। त्यसैगरी पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, लेखा आयोगले पनि बैठकमा आ–आफ्नो कामको प्रगतिविवरण बैठकमा प्रस्तुत गरेको थियो।

प्रकाशित: ११ भाद्र २०७९ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App