१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बालेनलाई प्रश्न: ८ करोडको गाडी कहाँबाट आयो ?

स्वकीय सचिव भन्छन्- भाडामा लिएका हौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको कोशी प्रदेश भ्रमणका क्रममा प्रयोग भएको महँगो गाडीको विषयले यतिबेला सामाजिक संजाल तातिएको छ।

चुनावी प्रचारप्रसारका लागि कोशीका विभिन्न जिल्लामा पुग्दा बालेनले करिब ८ करोड मूल्य पर्ने गाडी प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको थियो।

आइतबार सञ्चारकर्मीहरूले बालेनलाई घेर्दै सोही गाडीको विषयमा प्रश्न सोधेका थिए।

सञ्चारकर्मीले ‘तपाईंले चढेको ८ करोडको गाडी कहाँबाट आयो ?‘ र ‘के यसप्रति तपाईं उत्तरदायी हुनु पर्दैन ?’ भनी प्रश्न गर्दा बालेनले भने कुनै जवाफ दिएनन्। उनी मौन रहँदै प्रश्न छलेर अघि बढे।

बालेनले जवाफ नदिएपछि उनका स्वकीय सचिव एवं रास्वपा नेता भूपदेव शाहले उक्त गाडीको बचाउ गरेका छन्। शाहले बालेनले चढेको गाडी खरिद गरिएको वा उपहारमा आएको नभई भाडामा लिइएको दाबी गरे।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाहले भने, ‘यो गाडी व्यवस्थापनको कुरा हो। लजिस्टिक व्यवस्थापन गर्ने टोलीले विभिन्न ठाउँमा जाँदा गाडीहरू भाडामा लिनुपर्ने हुन्छ। यो पनि सोही प्रक्रिया अन्तर्गत भाडामा लिइएको हो।’

उनले यो गाडी कुनै व्यापारिक घरानासँगको नेगोसिएसन वा सम्झौताबाट नआएको प्रस्ट पार्दै भने, ‘यसमा कुनै व्यापारिक स्वार्थ जोडिएको छैन। भोलि हामी सुदूरपश्चिम जाँदैछौँ, त्यहाँ पनि आवश्यकता अनुसार गाडीको व्यवस्थापन हुनेछ।’

प्रकाशित: ११ माघ २०८२ १७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App