coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धनभित्र सिट बाँडफाँटमा सकस

फाइल तस्बिर

सत्ता गठबन्धन दलभित्र संसदीय निर्वाचनमा सिट बाँडफाँट मिलाउन अल्झन देखिएको छ। एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जसरी पनि आफूलाई संघीय प्रतिनिधिसभामा २४ सिट चाहिने अडान लिएको छ। माओवादी केन्द्रले गठबन्धनका अन्य दलले ८५ सिट र कांग्रेसले ८० सिट लिएर चुनावमा जानुपर्ने प्रस्ताव राखेको छ। जसले गर्दा सिट बाँडफाँट कार्यदलले काम गर्न सकेको छैन।

‘माओवादी केन्द्र र नेकपा एसको अपेक्षा निकै ठुलो देखियो, जसले गर्दा कार्यदलमा अहिले नै सिट संख्या टुंग्याउने अवस्था देखिएन’, कार्यदलका एक सदस्यले भने। ती सदस्यका अनुसार मंगलबारको बैठकमा शीर्ष नेताहरूलाई एकल वार्ता गरेर सिट संख्या टुंग्याउन फेरि आग्रह गर्ने सहमति भएको छ। कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला बिरामी परेका कारण शीर्ष नेताहरूलाई ब्रिफिङ गर्न केही ढिला हुने बताइएको छ।

छलफलका क्रममा माओवादीलगायतका दलले नेकपा एसलाई १० देखि १२ सिट मात्रै प्रस्ताव गरेका थिए। तर नेकपा एसले आफूले कम्तीमा २४ सिट पाउनुपर्ने दाबी नछाडेपछि अल्झन भएको हो। नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरूले ४० सिटमा दाबी गरेको तर बाँडफाँट गर्दा भागमा २४ सिट पर्ने बताए। ‘गठबन्धन गरेर संविधान जोगाउन हामी एमालेबाट अलग भएका हौं, यस काममा सहभागी २४ जना साथीले चुनाव लड्न पाउनुपर्छ भन्ने हाम्रो अडान छ, सायद यही बिन्दुमा गठबन्धनको सिट संख्या तोकिनेछ र गठबन्धन हुनेछ,’ खतिवडाले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसपछि आफूले बढी सिट लिने, नेकपा एस, जसपा र जनमोर्चालाई कम सिट दिने नीति लिएका छन्। दाहालको रणनीति थाहा पाएपछि नेकपा एसले आफूलाई २४ सिट चाहिने अडान लिएको हो। ११ सदस्यीय सिट बाँडफाँट कार्यदलमा नेकपा एसबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव डा. वेदुराम भुसाल सदस्य छन्। उनीहरूले अहिले संसद्मा जुन दलको जति सिट संख्या छ, त्यसकै आधारमा बाँडफाँट गरेर निर्वाचनमा गठबन्धन गर्दा सन्तुलित र न्यायपूर्ण हुने तर्क अघि सारेका छन्।

‘अहिले दलहरूको सदनमा भएको संख्यालाई आधार मानियो भने वैज्ञानिक हुने हाम्रो भनाइ हो,’ नेकपा एसका एक नेताले भने। ती सदस्यका अनुसार कांग्रेसले सिट बाँडफाँट गर्नेभन्दा पनि सन्तुलन मिलाएर जानुपर्छ। गठबन्धनमा कांग्रेस सबैभन्दा ठूलो दल भएकाले हाबी देखिएको छ। कांग्रेस र माओवादी दुवैलाई निर्वाचन जित्न आफ्नो सहयोग चाहिने भएकाले आफूले मागेजति सिट पाउनुपर्ने नेकपा एसको भनाइ छ।

कांग्रेसले माओवादीलाई भन्दा बढी नेकपा एसलाई ‘माया’ देखाइरहेको छ। नेकपा एसले दाबी गर्ने एकाध स्थानबाहेक सबैमा कांग्रेसले साथ दिने अवस्था छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै नेकपा एसका अध्यक्ष माधव नेपाललाई टाढा राखेर गठबन्धन गर्नुको अर्थ छैन भन्ने सन्देश दिएपछि उसले २४ सिट पाउन ४० मा दाबी गरेको हो। ‘हाम्रो देशव्यापी संगठन छ, एमालेलाई हराउन हाम्रो भूमिका र मत पर्याप्त छ, यसको अर्थ अरूलाई जिताएर हामीचाहिँ हार्नुपर्छ भन्ने होइन, गठबन्धन भनेको मिल्नु हो, एकपक्षीय ढंगले अघि बढ्ने भनेको होइन,’ नेकपा एसका प्रचार विभाग प्रमुख खतिवडाले भने।

नेकपा एसले माधवकुमार नेपाल, झलनाथ खनाल, राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, प्रेम आले, शेरबहादुर कुँवर, मेटमणि चौधरी, भवानी खापुङ, कृष्णलाल महर्जन, राजेन्द्र राई, प्रकाश ज्वाला, धर्मनाथप्रसाद साह, सोम पाण्डे, दीर्घ सोडारी, धनबहादुर बुढा, रामचन्द्र झालगायत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्नुपर्ने योजना बनाएको छ।

एक सय सिटभन्दा तल नझर्ने दाबी लिएको कांग्रेस कम्तीमा ८५ देखि ९० सिट आफ्नो भागमा पार्न चाहन्छ। कांग्रेस निर्वाचनपछि कुनै एक दलको सहायताले मात्रै सरकार बनाउने सोचमा रहेको स्रोतले जनाएको छ। अहिलेको सरकारमा वामपन्थी दलहरूले धेरै नै अप्ठेरोमा पारेको भन्दै कांग्रेसकै नेताहरूले सकेसम्म सय सिट लिएर निर्वाचनमा जानुपर्ने बताइरहेका छन्।

कांग्रेसले समानुपातिकसहित एकल बहुमत ल्याउन नसके पनि संसद्मा सबैभन्दा सानो दलको सहायताले सरकार बनाउने परिस्थिति निर्माण गर्न खोजिरहेको छ। त्यसमा नेकपा एस सहयोगी हुने अपेक्षा कांग्रेसले राखेको स्रोतको दाबी छ। तर नेकपा एसले माओवादीसँग पार्टी एकताका गर्न कार्यदल बनाउने भनेपछि कांग्रेस झस्किएको छ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी सिट बाँडफाँटको कार्यदलले काम गरिरहेकाले यसको यति सिट, उसको यति सिट भन्नुको कुनै औचित्य नहुने बताउँछन्। ‘सबैले आफ्नो घाँटी हेरेर हाड निल्नुपर्छ भन्ने हो, भोलि यही गठबन्धनका कारण विपक्षीलाई फाइदा पुग्ने अवस्था आए कुनै अर्थ रहन्न। कांग्रेस र गठबन्धनका अन्य दलले बुद्धिमत्तापूर्वक सिट बाँडफाँट गर्नुपर्छ,’ शिवाकोटीले भने, ‘गठबन्धनप्रति कांग्रेस इमानदार हुने कोसिस गरिरहेको छ तर वामपन्थी दलका नेतापिच्छेका फरकफरक अभिव्यक्तिले कांग्रेसलाई झस्काउने गरेको छ।’

कांग्रेसका तर्फबाट कार्यदलको सदस्य रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले मंगलबार सञ्चारकर्मीसँग सिट बाँडफाँट गर्न केही दिन लाग्ने बताएका थिए।

प्रकाशित: ९ भाद्र २०७९ ००:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App