निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग प्रस्तावबारे छलफलका लागि महाअभियोग सिफारिस समितिको बैठकमा सदस्यहरुले आ-आफ्ना धारणाहरु राखेका छन्।
बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सबै सदस्यहरुले यसलाई छिट्टै टुग्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।
बैठकमा बोल्दै कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले राणालाई महाअभियोग लगाउनै पर्ने भएकाले प्रस्ताव दर्ता आएको बताए। महाअभियोग लगाए पनि प्रकृया र काम ठीक ढंगले नभएको उनले बताए। बैठकमा उनले भने,‘जसलाई महाअभियोग लगाउनुपर्ने हो, उसलाई लगाएका छौं तर काम ठिक ढंगले भइरहेको छैन,’ विश्वकर्माले भने,‘हामीलाई ३ महिना समय हो। ३ महिनापछि भन्ने होइन। ३ महिनाभित्र यो काम सकौं। सिंगो संसद्ले हामीलाई जिम्मेवारी दिनमा ढिलाइ गर्यो। महाभियोग समितिमा पठाउन ढिलाइ गर्यो।’
‘चोलेन्द्रलाई महाअभियोग लगायौं तर अहिले हामीप्रति नै प्रश्न आएका छन्। अब यसलाई छिटो अगाडि बढाऔं,’ उनले भने।
यस्तै बैठकमा बोल्दै नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले महाभियोग प्रस्ताव दर्ता भए पनि प्रकृया कानुनविपरीत गइरहेको बताए। दर्ता भएको लामो समयसम्म अध्ययन नभएको उनले असन्तुष्टि जनाए जनाए।
‘हामीलाई चोलेन्द्रलाई महाअभियोग ठहर्नै पर्छ भन्ने छैन। ठहर्नै हुन्न भन्ने पनि छैन। दोषी भए दोषी निर्दोष भए निर्दोष भन्न तयार छौं,’ उनले भने।
‘खुला दिमागका साथ बसौं। इतिहास रच्ने कुरा पनि छ भन्ने छ। एउटा पनि प्रधानन्यायाधीशउपर महाभियोग प्रमाणित भएको छैन। सुशीला कार्की, रणबहादुर बमलगायतमाथि महाभियोग दर्ता भयो तर चलेन,’ पोखरेलले भने। उनले संसदको आयु नै कम भएकाले सबै अध्ययनहरू सकेर यसलाई टुंगोमा पुर्याउनु पर्ने बताए।
यस्तै एमाले सांसद शिवमाया तुम्बाहाङ्फेले खराब नियतका साथ धेरै ढिला गरी प्रस्ताव समितिलाई पठाइएको बताइन्।
अर्का एमाले सांसद लालबाबु पण्डितले समितिमा आउन ढिला हुँदा एक गल्ती भइसकेकाले अब फेरि अर्को गल्ती गर्न नहुने बताए। उनले भने-एउटा गल्ती भइसक्यो फेरि अर्को नगरौं। काम हुन सक्नेगरी कार्यतालिका आओस्।
लोकतान्त्रिक समाजवादी पार्टीका सांसद इकवाल मियाँले ६ महिनासम्म महाअभियोग प्रस्ताव अड्किएकोले समयमै यसलाई टुग्याउनुपर्ने बताइन्। बताए।
बैठकमा उनले भनिन्, ‘अब समयमा नै सकाउने गरी काम गरौं। रातदिन खटेर गरौं। अध्ययन गर्ने कागजात जति छन् ती आजै मागौं।’
नेकपा (एकीकृत समाजवादी) की सांसद कल्याणी खड्काले समितिले धेरै लामो कार्यविधि बनाउने भन्दा यो प्रक्रिया छिटो सकेर चुनावतर्फ जानुपर्ने बताइन्।
जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले महाअभियोग प्रस्तावमा आफ्नो पार्टी प्रस्तावक र समर्थक नरहेको भए पनि यसलाई चाँडै टुंग्याउनु पर्ने बताए।
प्रकाशित: १ भाद्र २०७९ ०८:३८ बुधबार