१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालका सांस्कृतिक पर्व विदेशी आकर्षण गर्ने माध्यमः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालका सम्पदा र संस्कृति देशको पहिचान भएकाले यिनको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने खाँचो औँल्याएका छन्।

गाईजात्रा तथा रोपाइँजात्रा मूल समारोह समितिले बौद्ध स्तूप परिसरमा आयोजना गरेको गाईजात्रा तथा रोपाइँजात्रा समारोह एवं पुरस्कार वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालका सांस्कृतिक पर्व र जात्रा विदेशी पर्यटक आकर्षण गर्ने माध्यम भएकाले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा पहिचान गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएकाले यहाँको कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नसके अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धनमा टेवा पुग्ने बताए। पर्यटनमन्त्री श्रेष्ठले पर्यटनको माध्यमबाटै मुलुकमा समृद्धि प्राप्त हुने भन्दै पर्यटन विकासका लागि नेचर, कल्चर र एडभेन्चरलाई संयोजन गरेर प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए।

उनले भने, 'मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने क्षेत्र पर्यटन नै हो त्यसैले समृद्धि हासिलका लागि पर्यटनको विकास हुनुपर्छ, पर्यटनको माध्यमबाट नेपाललाई विश्वको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ।'

मन्त्री श्रेष्ठले मूर्त र अमूर्त सम्पदा र जात्रा एवं पर्वको संरक्षण विकासमा सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गरे। कार्यक्रममा बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामाले सबै धर्मावलम्बीको उपस्थितिमा हुने जात्राले सांस्कृतिक एकता प्रदर्शन गरेको बताए।

प्रकाशित: २८ श्रावण २०७९ १६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App