१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद्‍मा रुलिङको माग

फाइल तस्बिर

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमाले सांसद भीम रावलले अमेरिकासँग स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङ गर्न माग गरेका छन्। उनले पटकपटक यही कुरा दोहोर्‍याउँदै २० मिनेटजति रोस्ट्रम छाडेनन्। ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति दिनेसम्बन्धी सम्झौताको प्रावधानमाथि छलफलका क्रममा आफ्ना भनाई राख्न रोस्ट्रममा पुगेका रावलले एसपिपीको कुरा उठाएका हुन्।  

रावलले सरकारले अमेरिकासँग एसपिपी सम्झौता नगर्ने निर्णय गरेकाले त्यसको जानकारी अमेरिकालाई पत्रमार्फत गराउने रुलिङ गर्न पटकपटक सभामुखको ध्यानाकर्षण गरे। एमाले नेता रावलले रोस्ट्रमबाट यस्तो माग गरिरहँदा सांसद सत्या पहाडी सभामुखको भूमिकामा थिइन्। उनले पटकपटक आसनमा गएर बस्न आग्रह गर्दा पनि रावलले मानेनन्। रावलले रोस्ट्रमबाट भनिरहे ‘एसपिपी सम्झौता नगर्ने निर्णयको पत्र अमेरिकालाई नपठाउनाले नेपाल सरकारलाई गाह्रो पर्‍यो, अमेरिकालाई पत्र पठाउन रुलिङ गर्नुपर्‍यो। प्रतिनिधिसभाको यो बैठकले सहयोग गर्नुपर्‍यो। प्रतिनिधिसभाको तागत सरकारलाई देखाउनुपर्‍यो।’

धेरैबेर रावलले एउटै कुरा गरेर रोष्ट्रम नछाडेपछि कांग्रेस सांसद मीनबहादुर विश्वकर्मले नियमापत्ति जनाए। अन्य सांसदले रावलको माइक काट्न सभामुखलाई आग्रह पनि गरे। तर सभामुखको भूमिका रहेकी पहाडीले माइक नकाटी सम्बन्धित मन्त्रीलाई ध्यानाकर्षण गराएको बताउँदा पनि रावल रोष्ट्रमबाट झरेनन्। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटा आइपुगे। सांसद रावलले उठाएको कुरा विषयान्तर भएको भन्दै सापकोटाले उनलाई आफ्नो विषयमा कुरा राख्न आग्रह गरे। तर रावलले आफ्नो अडान छाडेनन्। एसपिपी राष्ट्रियताको विषयसँग जोडिएकाले विषयान्तर नभएको जिकिर उनले गरे। सभामुख सापकोटाले नियमावलीको व्यवस्था देखाउँदै सिटमा गएर बस्न रावललाई आग्रह गरे। रावलले २० मिनेट हुँदा पनि रोष्ट्रम छाड्न नमानेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरे ।  

प्रकाशित: ५ श्रावण २०७९ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App